झापा, बैशाख २८ । कोरोना भाइरसको संक्रमण घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५०५ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले संक्रमण घट्ने क्रममा रहेको बताए । ‘भारतमा पनि संक्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’, उनले भने, ‘समुदायमा खोप लगाएकाको संख्यामा धेरै भएकाले संक्रमण फैलिन पाएन ।’ एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमण घटेको पाइन्छ । यही वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयको पछिल्लो विवरणअनुसार देशमा हाल १४१ जना सक्रिय संक्रमित छन् । यस्तै १४ जना आइसोलेसन, पाँचजना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेपछि संक्रमण बढेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्