झापा, बैशाख ३० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्तावसमेत आएको छ ।

बिहीबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश र दुई गैर भौगोलिक गरी नौ समूह बनेको थियो । उक्त समूहगत छलफलका क्रममा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको हो । पोलिटब्युरो सदस्यत्रय महेश बस्नेत, गोकुल बाँस्कोटा, नीरु पालसहित युवा नेताहरूले संघीयताको विपक्षमा आवाज उठाएका हुन्। उनीहरूले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । दुई समूहका टोली नेताले प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याएको एक नेताले बताए । स्थानीय तहलाई बलियो बनाएर प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने उनीहरूको भनाइ थियो। कुनै पनि प्रदेशको आर्थिक मोडेल नभएको र पाँच वर्षमा प्रदेश संरचना महँगो भएकाले खारेजी गर्नुपर्ने प्रस्ताव बाँस्कोटाले ल्याएका थिए । यसैगरी जिल्ला समन्वय समिति (जिसस) खारेजीको प्रस्ताव पनि आएको छ । ‘न जनताबाट निर्वाचित भयो, न जनताप्रति जवाफदेहिता नै,’ भन्दै आर्थिक बोझमात्रै भएको टिप्पणी नेताहरूले गरेका थिए । यसैबीच, नेकपा एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा बजेटका लागि सल्लाह, सुझावका लागि प्रशिक्षण दिन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्