झापा , जेठ १ । मोरङको बेलबारी नगरपालिका-९ बाहुनीस्थित जनता माध्यमिक विद्यालयको बसका चालक सोमबार बिहान मृत फेला परेका छन् ।

बेलबारी-९ घर भएका ४९ वर्षीय कालुराम चौधरी बिहान ५ः३० बजेतिर मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बेलबारी-७ कदम चोकस्थित नालीमा घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको हो । चौधरीको शवनजिकै उनले चलाएको को १० प ९१९७ नम्बरको मोटरसाइकल पनि लडिरहेको अवस्थामा भेटिएको दाहालले बताए । उनका अनुसार हावाहुरी चलेको रातको समयमा मोटरसाइकल दुर्घटनामा परेर चौधरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । ‘हावाहुरी चलेका बेला नियन्त्रण गुमाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको आशंका छ,’ दाहालले भने , ‘मुखमा चोट लागेको अवस्थामा शव फेला परेको छ ।’ शरीरका अन्य भागमा चोटपटक नरहेको र प्रारम्भिक अनुसन्धानबाट अन्य सवारीसाधनले ठक्कर दिएजस्तो नदेखिएको उनले बताए । चौधरीको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक टेकप्रसाद साहका अनुसार बसका चालक रहेका चौधरी विद्यालयमा बस राखिसकेपछि साथीलाई पुर्‍याउन भनी मोटरसाइकल लिएर साँझ कदम चोकतर्फ गएका थिए। साथीलाई घरमा छाडेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने साहको भनाइ छ । चालक चौधरीको मृत्यु भएको शोकमा सोमबार विद्यालयमा बिदा दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्