झापा , जेठ २ । प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरीले धरान-१७ डाँडा घोपा बस्ने ३ जना युवालाई पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान- १७ डाडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान-१५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लकाअनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।

केही युवाहरुले पेस्तोल लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको कमान्डमा आरटीआई विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पेस्तोलसहित युवाहरुलाई पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा हुकुमेन जिमीले ल्याएको पेस्तोल उनका भाइ दीपकले घर नजिकै झाडीमा लुकाएको अवस्थामा बरामद भएको थियो । उनीहरुलाई थप अनुसन्धान गर्दा धरान-१५ बाझगरा बस्ने रोहित राईसँग पनि पेस्तोल रहेको खुलासा भएको थियो । प्रनाउ मल्लले भने, ‘हुकुमेन र दीपकले दिएको बयानको आधारमा रोहितको घर पनि खानतलासी गर्दा खाटमाथि ओछ्याइएको डसनामुनि लुकाएर राखेको अवस्थमा थप एक थान पेस्तोल बरामद भएको थियो ।’

तीन जनाले पेस्तोल राखेको देखिए पनि हालसम्म कुनै पनि आपराधिक गतिविधिमा संलग्न भने नदेखिएकोले थप अनुसन्धानका लागि सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ मल्लले बताए । उनीहरु तीनैजनालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्