झापा, जेठ ४ । संविधानले व्यवस्था गरेको विशेष स्वायत्त र संरक्षित क्षेत्रको अधिकार खोजी गर्नका लागि झापाका आदिवासीहरु अगाडि सर्ने भएका छन् ।

झापामा दशकौंदेखि बसोबासरत राजवंशी , धिमाल, मेचे , सन्थाल , किसान , ताजपुरिया र गन्गाई जातिले विशेष स्वायत्त र संरक्षित क्षेत्रको अधिकार खोज्न लागेका हुन् ।

उनीहरुले स्वायत्त क्षेत्रसम्बन्धी संवाद समिति निर्माण गरेका छन् । त्रिनारायण राजवंशीको संयोजकत्वमा गठित समितिमा प्रत्येक जातिका तर्फबाट एक–एकजना प्रतिनिधि राखिएको छ । जसअनुसार मेचे जातिबाट विरेन मेचे , धिमाल जातिबाट नारायण धिमाल , ताजपुरिया जातिबाट मनकुमार ताजपुरिया , सन्थाल जातिबाट लखन हेमरम, किसान जातिबाट भीम किसान, गन्गाई जातिबाट चन्द्रबहादुर गणेशलगायत रहेका छन् । नेपालको संविधानको धारा ५६(१)(५), २८७ र २९५ मा निश्चित समुदायलाई वा समुदायको आर्थिक , सामाजिक र सांस्कृतिक विकास र उत्थानको लागि विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने उल्लेख छ ।

आदिवासी जनजाति वकिल समूह (लाहुर्निप)को आयोजनामा बिर्तामोडमा भएको विशेष स्वायत्त र संरक्षित क्षेत्र विषयक दुईदिने अन्तरक्रियामा सहभागी जातीय प्रतिनिधिहरु संविधानले प्रदान गरेको विशेष स्वायत्त र संरक्षित क्षेत्रको अधिकारको खोजी गर्न अब लागिपर्ने निश्कर्षमा पुगेका हुन् । उनीहरुले विशेष स्वायत्त र संरक्षित क्षेत्रको लागि ऐतिहासिक प्रमाणका आधारमा गर्ने गरिएको पहिलो जाति घोषणा कार्यक्रमले सहयोग पुग्ने भएकाले झापाका सबै पालिकाहरुमा पहिलो जाति घोषणा गर्दै जाने सहमति गरेका छन् । दमक नगरपालिकामा धिमाल जाति र बाह्रदशी गाउँपालिकामा राजवंशी जातिलाई पहिलो जाति घोषणा गरिसकिएको छ । मेचीनगर नगरपालिकामा मेचे , राजवंशी , धिमाल र किसानमध्ये कुन जातिलाई घोषणा गर्ने भन्ने विवाद छ । जाति–जातिबीच विवाद नगरी आदिवासी जनजाति महासंघको समन्वयमा पालिकाहरुमा पहिलो जाति घोषणा गर्ने उनीहरुले सहमति जनाएका छन् ।

राजवंशी जातिले दावी गरेको क्षेत्र
सन्थाल जातिले दावी गरेको क्षेत्र
धिमाल जातिले दावी गरेको क्षेत्र
किसान जातिले दावी गरेको क्षेत्र
मेचे जातिले दावी गरेको क्षेत्र
गन्गाई जातिले दावी गरेको क्षेत्र
ताजपुरिया जातिले दावी गरेको क्षेत्र

कार्यक्रममा ती सातवटा जातिहरुले विशेष स्वायत्त र संरक्षित क्षेत्रको लागि आ–आफ्नो दावी पेस गरेका छन् । राजवंशी जातिले जिल्लाका १५ वटै पालिकामा दावी गरिरहँदा सन्थाल जातिले संरक्षित क्षेत्र हल्दिवारी गाउँपालिका , विशेष संरक्षित क्षेत्र सम्पूर्ण पालिका र स्वायत्त क्षेत्र कन्काई नगरपालिकालाई माग गरेको छ ।त्यस्तै ताजपुरिया जातिले शिवसताक्षी , गौरादह, कमल र गौरीगञ्जलाई संरक्षित क्षेत्र ठानेको छ । किसान जातिले मेचीनगर नगरपालिकाको वडा नं १, ४ , ६ , ७ , ८ , ९ , १० र ११ तथा बिर्तामोड ६ लाई संरक्षित क्षेत्र दावी गरिरहँदा धिमाल जातिले मेचीनगर , बिर्तामोड , दमक र अर्जुनधारालाई आफ्नो पुरानो थातथलो दावी गरेको छ । त्यस्तै मेचे जातिले अर्जुनधारा , मेचीनगर , बिर्तामोड र हल्दिवारी तथा गन्गाई जातिले झापा, कचनकवल , गौरीगञ्ज , बाह्रदशी , भद्रपुर, बिर्तामोड , मेचीनगर र शिवसताक्षीमाथि दावी गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बू र सचिव अधिवक्ता भीम राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्