झापा, जेठ ४ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले माओवादी र जसपालाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छन् ।

संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले केन्द्रमा १० दलीय गठबन्धनमा कायम रहेकाले प्रदेशमा पनि त्यसको मर्मअनुरूप अगाडि बढ्नुपर्ने बताए । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्दा समस्या भएको भन्दै उनले समर्थन फिर्ता लिन आग्रह गरिएको जानकारी दिए ।

‘हामीले संसदीय दलको बैठक नै बसेर प्रदेश सरकारमा सहभागी माओवादी र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्ने लिखित निर्णय गरेका छौ,’ थापाले भने ‘केन्द्रमा १० दलीय गठबन्धन भएकाले प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन हुनुपर्छ भन्ने हो ।’ उनले थपे, ‘अहिले सभामुखले राजीनामा दिनु पर्छ भन्ने हल्ला छ त्यो केही गर्नु पर्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत भएकाले उसलाई सरकारमा ल्याउन सकिन्छ । त्यो नभए ३० दिनसम्म सरकार चल्छ अनि मध्यावधिमा प्रदेश जान्छ । त्यसका लागि नेपाली कांग्रेस तयार छ ।’

कोशीमा अहिले नेकपा एमालेका हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । सरकारमा एमालेका ४०, माओवादीका सभामुखसहित १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् ।विपक्षी गठबन्धनमा कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन् ।

सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । नयाँ गठबन्धनमा सभामुखसहित मात्रै ४७ सांसद पुग्छन् । राप्रपाले साथ दिएको खण्डमा भने सहजै सरकार बन्ने देखिन्छ । मुख्यमन्त्री कार्कीले भने सहमतीय सरकार बनाउन आह्वान गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्