झापा , जेठ ५ । पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउनुपर्ने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन भनेको हो । वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्री सरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निणर्य गरेको थियो । सोही आधारमा केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि पूर्व प्राथमिकता तहमा प्रयोग हुने पाठ्यसामग्रीहरू यस केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाई तथा विक्री वितरण गर्न भनेको हो ।
यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीहरू समेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ । पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ । यसअघि पूर्व प्राथमिक तहमा केन्द्रको मूल्याङ्कनबिना नै पाठ्यसामग्री प्रयोग हुँदै आएको थियो । सरकारले सबै तहको पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम ल्याउने भन्दै अन्य तहमा केन्द्रले बनाएको पाठ्यसामग्री प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्