बिर्तामोड,जेठ ५ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । जेठ १५ गतेका लागि घोषित निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । बिर्तामोड खानेपानी सन् २०१८ र २०२२ मा गरी दुईपटक देशकै उत्कृष्ट बनेको थियो । खानेपानी आयोजनाको कुशल संचालन र व्यवस्थापनका लागि उत्कृष्ट बनेको बिर्तामोड खानेपानी संस्थाको अबको नेतृत्व पनि कुशल र सक्षम चाहिएको छ । त्यही आवश्यकतालाई मध्यनजर गरी एक पटक कार्यसमिति सदस्य र दुई पटक सचिव पद सम्हालिसकेका मेघराज बास्तोलाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

बिर्तामोड नगरपालिकाका छैठौं अधिकृत बास्तोला अपांगता स्वाबलम्बन संस्थाको सल्लाहकार , एकता युवा समाजको सल्लाहकार संयोजक , विराट– भरत विश्रान्तिका सदस्यलगायत दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध छन् । सरल, मिलनसार र सहयोगी स्वभावका बास्तोलाले उपभोक्तालाई सरल र सहज ढंगबाट २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउने मुख्य एजेन्डा लिएका छन् ।प्रस्तुत छ उनीसंग गरिएको संक्षिप्त कुराकानी–

यहाँ बिर्तामोड खानेपानी संस्थाको अध्यक्षको दाबेदारको रुपमा अगाडी सर्नु भएको छ । यहाँका एजेन्डा के के छन् ?
सर्बप्रथम यसमा हाम्रो संस्थाको उद्देश्य नै यहाँ रहेका उपभोक्तालाई सरल , सहज ढंगबाट २४सै घण्टा शुद्ध पानी उपलब्ध गराउने हाम्रो मुख्य योजना र एजेण्डा हो । त्यसमै दृढ भएर लागिपर्ने छौं ।
बिर्तामोड खानेपानी देशकै नमूना खानेपानीे कहलिएको छ । त्यो गरिमा र ख्यातिलाई अझ माथि उचाईमा लैजानको लागि त्यस्तो योजना यहाँसंग के छ ?
बिर्तामोड सानो शहरी खानेपानी संस्थाले यो संस्थाको निर्माण संचालन एबम् पुनर्निर्माण संचालनका लागि आफ्ना योजनाहरुलाई समयमै सम्पन्न गरेको छ । नगर विकासले पनि २०१८ र २०२२ मा पनि उत्कृष्ट खानेपानीको अवार्ड प्रदान गरेको छ र यसलाई अझ कायम राख्नको लागि आगामी दिनहरुमा संस्थाले निरन्तर रुपमा संस्थाका गतिबिधिहरुलाई अगाडि बढाएर उपभोक्ता र संस्थाको हितका लागि काम गर्नेछ ।

बिर्तामोडमा जनसंख्याको चाप बढ्दै गईरहेको अवस्थामा यसको क्षमता बिस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । त्यसतर्फ के सोच्नु भएको छ ?
उपभोक्ताको बढ्दो पानीको मागलाई मध्यनजर गर्दै पानी उत्पादनमा हामीले क्रमिक रुपमा बोरिङ विस्तार गर्दै आईरहेका छौं । यसैपाली ३–४ महिनाको दौरानमा हामीले ४ वटा बोरिङ सम्पन्न गरेका छौं र उपभोक्ताको माग जति बढ्दै जान्छ, हामी पानीको क्षमता पनि बिस्तार गर्दै जान्छौं ।

शुरुदेखि अहिलेसम्म हेर्दा बिर्तामोड खानेपानीको नेतृत्व एकदमै कुशल पाउँछौं ।जस्तो पहिला टोरुप प्रसाई, त्यसपछि जलकुमार गुरुङ । अबको नेतृत्व पनि त्यस्तै कुशल हुनु पर्छ भनेर उपभोक्ताहरुको माग छ । तपाई आफूलाई कुशल नेतृत्व ठान्नु हुन्छ ?

यो त अरुले मूल्यांकन गर्ने कुरा हो । यहाँले उल्लेख गर्नुभएको अग्रजहरुको अमूल्य योगदान छ । उहाँहरुकै प्रेरणा , सरसल्लाह र राय सुझाबले यसलाई निरन्तर राख्नको लागि मेरो अथक प्रयास रहनेछ । हाम्रो टिमको प्रयास रहनेछ । जो निर्वाचित भएर आउँछौं, त्यसमा हामी सबैको सक्दो प्रयास रहनेछ । तर हाम्रो मागदर्शक, पथप्रदर्शक भनेका हाम्रा अग्रज नेतृत्वहरु नै बन्नुहुनेछ । हामीले उहाँहरुबाट सिकेर ,बुझेर अगाडी बढाएर लिएर जानेछौं ।

अग्रजहरुको साथबाट के कस्ता अनुभवहरु बटुल्न सक्नु भयो त ?
उहाँहरुले पानीको आपूर्तिमा गर्नुभएका प्रयासहरु , उहाँहरुले गर्नुभएका निर्माण संचालनहरु , गरेका योजनाहरु र कामहरुबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । त्यही अनुभवका आधारमा हामी अगाडी बढ्ने कोसिसमा छौं र काम गर्छाैं ।

निर्वाचन आईसक्यो , तयारी कस्तो छ ?
जसले खानेपानीको धारा जडान गर्नु भएको छ , उहाँहरु हाम्रो विधानतः मतदाताहरु हुनुहुन्छ । आम उपभोक्ता र संस्थाको हितको लागि तपाईहरुले राम्रो मान्छे छान्ने काम गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु । संस्था र उपभोक्तालाई सँधै जोगाएर लिएर जानु पर्छ भन्नेमा हामी लागिरहेका छौं । त्यसैमा हामी अगाडी बढिरहेका छौं ।

तपाईको उम्मेदवारी निश्चितजस्तै भईसक्यो । तपाई घरदैलो कार्यक्रममा हिडिरहनु भएको छ । आम उपभोक्तालाई के भन्न चाहनु हुन्छ ?

बिर्तामोड खानेपानीको एक कार्यकाल सदस्य र २ कार्यकाल सचिब भएको मेरो लामो अनुभबलाई लिएर यस संस्थालाई आगामी दिनहरुमा पनि मेरो अनुभवलाई अझ खारेर , अगाडी बढाएर संस्थाको हितको लागि चाहिँ काम गरेर मलाई फेरि पनि अवसर दिनु होला भनेर उहाँहरुलाई अनुरोध गर्न चाहन्छु , अपिल गर्न चाहन्छु । र, कहिले पनि म उपभोक्ता र संस्थाको हितभन्दा बाहिर गएर कुनै पनि काम गर्ने छुइनँ । उपभोक्ताको हितकै लागि र संस्थाको लागि निरन्तर कार्य गरिरहनेछु भनेर प्रतिवद्धता जनाउन चाहन्छु । र, मलाई सहयोग गर्न हुन पनि म उहाँहरुलाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्