बिर्तामोड, जेठ ६ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि शुरु प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा खेल बर्षाका कारण रोकिएका छन् ।

पूर्व राष्ट्रिय लेजेण्ड खेलाडीहरुको सहभागिता रहेको टिमहरुले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिर्तामोड नगरपालिकाभित्रका २१ वटा कर्पाेरेट टिमहरुको सहभागितामा सञ्चालित प्रतियोगितामा शनिबार मन्त्र थकाली, न्यु स्टार, स्टार क्रिकेट टिम, डि डब्ल्यु वानले जित हात पारेका छन् ।

उद्घाटन खेलमा बिर्तामोडको मन्त्र थकालीले एक्स्पर्ट एजुकेशन कन्सलटेन्सीलाई १ विकेटले पराजित गरेको छ । एक्स्पर्टले दिएको ५१ रनको लक्ष्य ५ विकेट गुमाएर १ बलअघि नै मन्त्र थकालीले पूरा गरेको थियो । विश्व रेकर्ड बनाएका नेपालका पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम सहभागी टिमले एक्स्पर्टबिरुद्ध संघर्षपूर्ण जित निकालेको थियो । आलमले २१ रन जोडेका थिए भने १ ओभर बलिङ गर्दा ७ रन खर्चिएका थिए । सो खेलको म्यान अफ द म्याच १ विकेट लिएर १८ रन जोडेका अभ्यास तिम्सिना घोषित भए ।

यस्तै दोस्रो खेलमा डि डब्ल्यु वानले रामचोक युवा क्लबलाई ५ विकेटले हराएको छ । राष्ट्रिय लेजेण्ड खेलाडी सिद्धान्त लोहनी सम्मिलित डि डब्ल्युले रामचोक युवा क्लबले दिएको ३२ रनको लक्ष्य २ दशमलब २ ओभरमै १ विकेटको क्षतिमा भेट्टाएको थियो । सो खेलको म्यान अफ द म्याच १ विकेट लिएर १५ रन जोडेका बिकास राजवंशी घोषित भए ।

तेस्रो खेलमा बिएमवाइसिसीलाई ४२ रनले हराउँदै न्यु स्टार बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच सुरज न्यौपाने भएका थिए ।

चौथो खेलमा स्टार क्रिकेट क्लबले मारवाडी युवा मञ्चलाई १० रनले हराउँदै अघिल्लो चरण प्रवेश गरेको छ । स्टारले दिएको ५९ रनको लक्ष्य मारवाडी युवा मञ्चले निर्धारित ५ ओभर खेल्दा ४८ रनमात्र जोड्न सकेको थियो । सो खेलको म्यान अफ द म्याच स्टारका १ विकेट लिएर १० रन जोडेका सुमन गहतराज भएका थिए ।

शनिबार नै बि डब्ल्यु २ र बोस्टन एकाडेमीबीचको खेल पहिलो इनिङ सम्पन्न भएपछि बर्षाका कारण अवरुद्ध भएको थियो । बोस्टनसामु बि डब्ल्युले ५८ रनको लक्ष्य दिएको छ । त्यस्तै राउण्ड टेबल र इन्जिनियरिङ एशोसिएसनबीचको खेल पनि बर्षाका कारण नै रोकिएको छ । राउण्ड टेबलले पहिला ब्याटिङ गर्दै ४४ रनको लक्ष्य दिएकोमा दोस्रो इनिङको खेल भइरहँदा रोकिएको हो । सो खेलहरु आइतबार खेलाइने आयोजक समितिका संयोजक विशाल अग्रवालले जानकारी दिए ।
भब्य समारोहका बीच उद्घाटन भएको प्रथम सुपर सिक्स कर्पाेरेट क्रिकेट प्रतियोगितामा नगरका २१ टिमको सहभागिता रहेको छ । खेलकुदमा सहभागी कर्पाेरेट हाउसहरुले बिर्तामोडमा स्थायी रंगशालाको माग गरेका थिए । प्रमुख अतिथि रहेकी बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महताराले आगामी आर्थिक बर्षबाट नगरले रंगशाला निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रममा नगरका उपप्रमुख नगेन्द्र संग्रौला, झापा गोल्डकप आयोजक समितिका संयोजक बिनोद बस्नेत लगायतले बिभिन्न प्रकारका खेलकुद गतिविधि भइरहँदा पनि स्थायी रंगशाला नहुँदा समस्या भएको बताएका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
आइतबार सम्पन्न गर्ने प्रतियोगिता डे–नाइट फरम्याटमा हुने जनाइएको छ । फाइनल खेलअघि कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्