झापा, जेठ ६ । अत्यन्त दयनीय अबस्थाका लाखबहादुर विश्वकर्माको परिवारले नयाँ वर्षमा नाना , खाना र छाना पाएका थिए ।त्यसको करिव एक महिनापछि त्यही विश्वकर्मा परिवारले गरिखान साधनसमेत पाएका छन् ।

विपन्नलाई माछा दिनुभन्दा माछा मार्ने जाल दिएर आत्मनिर्भर बनाउनु उचित हुने ठानेर विश्वकर्मा परिवारलाई आफ्नै घरमा आरन संचालन गर्न ग्रेन्डर मेशिन प्रदान गरिएको हो ।
बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा बिर्तामोड– ७ स्थित बाह्रघरेमा देउनियाको खोलाको बगरमा भत्केको सानो छाप्रोमा अभावमा बाँचिरहेका विश्वकर्माको परिवारले अब गरिखाने भएका छन् । अर्काको आरनमा काम गर्न बाध्य लाखबहादुरले अब आफ्नै घरमा आरन संचालन गर्न सक्ने भएका हुन् । आरनसंगै खाद्यान्नसमेत पाएका विश्वकर्मा परिवारलाई खानेपानीको ट्युवेल, बिजुली जोड्न कालो तार , मिटर पनि प्रदान गरिएको छ ।

विश्वकर्मासंगै अन्य तीन विपन्न परिवारले पनि सहयोग पाएका छन् । आफ्नो घर नभएर अर्काको घरमा आश्रय लिइरहेका राजकुमार सुवेदी , सुफल हेमरम र बोतलसिंह हेमरमको परिवारले सहयोग पाएका हुन् । मगरको घरमा आश्रय लिएर बस्दै आएका ६ जनाको सुवेदी परिवारलाई सिरक डस्ना , ब्लांकेट , झुल , लगाउने कपडा ,त्यस्तै सुफल हेमरमको परिवारलाई २ बोरा चामल , २ लिटर खानेतेल , २ केजी नूनलगायतका खाद्य सामग्री प्रदान गरिएको छ भने बोतलसिंह हेमरमको परिवारले २ वटा खाट , ३ बन्डेल कर्कटपाता , वाइरिङको सामान, सिरक डस्नालगायतका सामान पाएका छन् ।

सुफल हेमरमको ३ जनाको परिवार भिष्म न्यौपानेको जग्गामा बस्दै आएका छन् भने बोतलसिंह हेमरमले विश्वकर्माको घरको छउमा कटेरो बनाउन लागेका छन् । आफू , श्रीमती , तीन छोरा र एक छोरीको पालनपोषण र पठनपाठन गराउँदा गराउँदै एउटा घरसमेत बनाउन नसकेको राजकुमार सुवेदीले समस्या सुनाए ।‘ छोराछोरी पढाउनु कि घर बनाउनु ?’उनले भने,‘ घर पनि चाहियो , लगाउने लुगा र खाने अन्न पनि अभाव छ ।’ कष्टकर जीवनयापन गरिरहेका ती चार परिवारले त्यसरी सहयोग पाएपछि दंग बनेका छन् । बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको अगुवाईमा वडा समितिले घरमै पुगेर सहयोग प्रदान गरेको हो । दीनदुःखी परिवारको लागि सो सामग्री अमेरिकाको पेन्सल्भेनिया र ओहायो राज्यमा रहेको कल्याण फाउन्डेसनमा आवद्ध छला खनाल, पशुपति खनाल, तारा श्रेष्ठ खनाल,चन्द्रा आचार्य, नारायण खनाल, वेदनिधि अधिकारी,काशीनाथ अधिकारी, दधिराम अधिकारी, मेघनाथ अधिकारी,माधव अधिकारी, प्रेम अधिकारी र हरिमाया खनालले सहयोग गरेको १ लाख १० हजार रुपैयाँले ती सामग्री खरिद गरी वितरण गरिएको सामाजिक अभियन्ता रमेश कार्कीले बताए ।

दीनदुःखीहरुका लागि आफूहरुले निरन्तर सहयोग गर्दै जाने वडाध्यक्ष कार्कीले बताए । कार्यक्रममा वडा सदस्य सोयालाल राजवंशी ,निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्