झापा, जेठ ७ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ ।

नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता सन् २०१७ मा भएको हो । एमसिसी र सरकारबिच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ । यस अनुसार कुल ७१ अर्ब नेपाली रुपियाँ बराबरको खर्च विकासमा हुने छ । संसद्बाट परियोजना अनुमोदित भएसँगै नेपालमा कामको थालनी भएको समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । हालसम्म पूर्वतयारीका कामको प्रक्रिया जारी छ । उनले भने, “जग्गा अधिग्रहणको काम सुरु भयो, १० जिल्ला छोएर जाने ३१५ किलोमिटर प्रसारण लाइनका लागि जग्गा आवश्यक छ ।” जग्गा प्राप्ति ऐन अनुसार सुरु भएको जग्गा अधिग्रहणको प्रक्रिया अनुसार अबको तीन महिनाभित्र जग्गाको मूल्य निर्धारण कार्य सम्पन्न हुने उनले बताए । अर्को कामका रूपमा परियोजना निर्माणकर्ताको छनोट प्रक्रिया सुरु भएको जानकारी उनले दिए । प्रतिस्पर्धाका आधारमा छनोट हुने कम्पनी नेपालमा काम गर्ने गरी पाँच महिनाभित्र उपस्थित भइसक्ने छन् । आगामी भदौदेखि एमसिसी परियोजनाको कार्यान्वयन औपचारिक रूपमा सुरु हुने गरी तयारी तीव्र बनेको विष्टले बताए । भदौदेखि नै नेपालले परियोजना सम्पन्न गर्न सम्झौता अनुसार पाएको पाँच वर्षको अवधिको सुरुवात हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्