झापा, जेठ १४ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा कबीर साहेबजीको ६२६ औं प्रकट दिवसको उपलक्ष्यमा उनका अनुयायीहरुले सातै प्रदेशमा शोभायात्रा निकालेका छन् ।

बिर्तामोड, बिराटनगर, इनरुवा, गौर, कलैया, बीरगंज, नारायणघाट, काठमाडौं, पोखरा, परासी, बुटवल, तौलिहवा, तुलसीपुर, नेपालगंज, सुर्खेत, गुलरिया, धनगढी र महेन्द्रनगर गरि सातवटै प्रदेशका १८ वटा जिल्लाहरुमा आध्यात्मिक चेतना तथा सतगुरु शोभायात्रा निकालेका हुन् । आजभन्दा ६२५ वर्ष पहिले कबीर साहेबजी काशीको लहरतारा तलाउमा विकसित कमलको फूलमा सतलोकबाट सशरीर शिशु रुपमा प्रकट भएको र वेदमा वर्णित भगवानका लीलाहरु उनले गर्दै धर्तीमा १२० वर्ष बिताएर मगहर भन्ने स्थानबाट सशरीर नै सतलोक गएको बिश्वास गरिएको छ । उनको जन्म कुनै आमाको गर्भबाट नभएर उनी स्वयं पूर्ण परमात्मा भएको भन्ने जानकारी दिंदै कबीर साहेब प्रकट भएको दिनको स्मृतिमा अनुयायीहरुले कबीर साहेब प्रकट दिवस मनाउने गरेका छन् ।

यहि जेठ १९,२० र २१ गते कबीर साहेबजीको प्रकट दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषामा तीन दिवसीय अखण्ड पाठ, विशाल भण्डारा , दाइजो मुक्त विवाह, आदि भव्य कार्यक्रमहरुको आयोजना गरिएको छ । उक्त कार्यक्रममा सार्वजनिक रुपले सर्व समाजलाई आमन्त्रण दिने उद्देश्यले यो शोभायात्रा निकालिएको उनका अनुयायीहरुले जनाएका छन् ।

यसका साथै वेद, गीता, कुरान शरीफ, बाइबल, गुरु ग्रन्थ साहेब आदि सर्वग्रन्थमा कबीर साहेब भगवान भएको नारा लगाउँदै हजारौंको संख्यामा गाडीहरु सजाएर यात्रामा सहभागी भएका थिए। यस शोभायात्राको माध्यमबाट समाजलाई कुलत, दाइजो प्रथा, भ्रष्टाचार आदि सामाजिक विकृतिहरुबाट मुक्त बनाउने संदेश दिनुका साथै अनुयायीहरुले पुस्तक पनि वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्