झापा, जेठ १४ । झापाका सहकारी संस्थामाथि आक्रमण गर्ने क्रम बढ्दो छ । विभिन्न व्यक्ति तथा समूहले सहकारीका संचालक र कर्मचारीमाथि लगातार आक्रमणको प्रयास गर्न थालेका हुन् ।

गत चैत १९ गते दमक ६ स्थित नवरंग बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि सामूहिक आक्रमण भएको थियो भने भने केही दिनअघि बिर्तामोडस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि पनि त्यसरी नै आक्रमण भएको थियो । त्यसबाहेक अरु पनि घटना छन् । सहकारी संस्थाहरुमाथि आक्रमण भइरहेको मौखिक जानकारी आएको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

यसरी लगातार आक्रमण हुन थालेपछि सहकारीका संचालकहरु असुरक्षित भएका छन् । उनीहरुले वित्तीय क्षेत्रमाथि भइरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर परेको भन्दै सुरक्षाको माग गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आइतवार झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय गएर प्रजिअ पोखरेललाई उक्त निवेदन दिएको हो ।

कार्यदलको आइतवार बसेको बैठकको निर्णय अनुसार जिल्लाका सहकारी संघ–संस्था र लघुवित्त सेवा प्रदायक संघ–संस्थामाथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ । साथै राष्ट्रिय सहकारी महासंघको प्राप्त पत्रानुसार सहकारी समस्या समाधान सहजीकरण कार्यदलद्वारा तयार पारिएको १३ बुँदे मागपत्र जिल्ला प्रशासन कार्यालय झापामार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई पेश गरिएको छ ।
प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारी अभियन्ताहरु जिल्ला प्रशासन कार्यालय गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्