किशोरकुमार पौडेल,

भौगोलिक अवस्था
२०७१ वैशाख २५ गते विर्तामोड नगरपालिका अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. मिलेर बनेको हो । हाल गरामनी गा.वि.स. समेत नगरपालिकामा गाँभिएपछि साविक चारपाने गा.वि.स.को २ देखि ९ वडाहरु मिलेर वडा नं. २ बनेको छ । यसको पूर्वमा वि.न.पा. वडा नं. १,३ र १० वडा सीमासँग जोडिएको छ भने पश्चिमतर्फ घाग्रा खोलाले कनकाई नगरपालिकासँग सिमाना छुट्याएको छ । साथै दक्षिण सिमाना बाह्रदशी गाउँपालिका र उत्तरतर्फ अर्जुनधारा नगरपालिकाभित्रको भूगोल नै वडा नं. २ हो ।
यस वडाको यातायातको हिसावले उत्तरतर्फ लोकमार्ग सडक, बीच भागमा गोकुलजोशी मार्ग र दक्षिणतर्फ अदुवा घाग्रा सडक पूर्व–पश्चिम भएर रहेका सडक हुन् । वडाको उत्तर–दक्षिण हँुदै महत्वपूर्ण सडक रामचोक–कुमालवाडी सडक, चारपाने –राजगढ सडक, प्रभुलाल– नयाँनगर मार्ग, बानालाल–त्रिशुलीचोक सोमबारे सडक, एकतामार्ग साथै बीचमा यिनै सडकहरुलाई छोएर पूर्व–पश्चिम वा उत्तर–दक्षिण सडकहरुको संजाल जोडिएको वडा हो यो ।

मेलमिलाप केन्द्रः
यस वडाभित्र वसोवास गर्ने स्थानीय जनताको विभिन्न खाले समस्या समाधान गर्न ९ सदस्यीय एक मेलमिलाप केन्द्र गठन गरेको छ । उक्त केन्द्रले वडाभित्र आएका निवेदन मेलमिलाप गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा जानकारी गराउन चाहन्छु । हालसम्म १११ वटा मुद्धा यस वडामा परेकोमा ६५ वटा मुद्धा मिलापत्र गरिसकिएको र ४६ वटा मुद्धा हाल प्रक्रियामा चलिरहेका छन् ।

धार्मिक एवं पर्यटकीय अवस्था

यस वडाको उत्तरी भागमा रहेको विवेकआश्रम क्षेत्रमा मठ मन्दिर र संस्कृत शिक्षा पठनपाठन भईरहेको साङ्गवेद संस्कृत मा.वि. रहेको छ । यस्तो धार्मिकस्थल तथा पठनपाठन हुने विद्यालयलाई वडाको तर्फवाट प्रचार गर्दै धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न विशेष योजना बनाउनु पर्ने भएकोले बिशेष पहल गरिनेछ । साथै रामचोकमा रहेको करिब तीन विगाहको वनक्षेत्रलाई बाल उद्यान पार्क र बाह्रदशी पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा काम अगाडी बढाइएको छ र यस्ता क्षेत्रबाट वडाको राम्रो आम्दानीको स्रोत बन्ने विस्वास लिइएको छ साथै त्यसले स्थानीय जनतालाई सुविधा पुग्ने देखिन्छ । यसकारण वडाले हाल रामचोक सामुदायिक वन र वाह्रदशी पोखरी गुरुयोजना सारेको छ।
हाल मात्र विर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा विर्तामोड न.पा.२ भित्र १३ दिनको अन्तर्राष्ट्रिय व्यापारिक मेलाको सभ्य तथा भब्य रुपमा सम्पन्न गरेको छ । जसको कारणले यस वडाको पर्यटन क्षेत्रमा टेवा पुगेको देखिन्छ र आगामी दिनमा निरन्तरता दिइनेछ ।

सामाजिक विकासतर्फ

यस वडामा गौरवको विषय ४ वडा मा.वि. हुनुले पनि सुनमा सुगन्ध थपिएको छ । स्थानीय जनतालाई आफ्ना छोराछोरीको पठनपाठन सजिलो होस् र दक्ष जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य राखी वडा कार्यालयले यस वडामा रहेका मा.वि.मा प्राविधिक विषय अध्ययनका लागि विषय छनौट गरी माथिल्लो निकायमा सिफारिस एवं बजेट विनियोजन गर्न सुरु गरेको छ । जस अनुसार मोहनमाया मा.वि.मा सिभिल इन्जिनियरिङ पढाई भईरहेको छ । वीर अमरसिंह मा.वि. लाई कम्प्युटर इन्जिनियरिङ विगत वर्षदेखि नै पढाई सुरु भैसकेको र यस वर्ष स्कुल बस समेत खरिद गरिएको छ । त्यस्तै दक्षिणमा रहेको पञ्चरत्न मा.वि.मा आगामी आर्थिक वर्षदेखि मेकानिकल इन्जिनियरिङ पढाइने गरी माथिल्लो निकायमा सिफारिस माग गरी सकिएको छ । उत्तरमा छुट्टै दक्ष जनशक्ति उत्पादन हुनेगरी संस्कृत पढाई भैरहेको छ । यसरी चारवटै मा.वि. आ–आफ्नो विशेषता भएको बनाउन वडाले विशेष पहल गरिरहेको छ । सबै विद्यालयको भौतिक सुधार गरी शैक्षिक गुणस्तरलाई विशेष जोड दिने लक्ष्य राखेको छ । बीर अमरसिंह मा.वि.लाई क्रमशः क्याम्पसको रुपमा विकास गर्ने र सबै मा.वि.हरुलाई बालबालिका अपाङ्गगता र वातावरण मैत्री बनाउने गरी बजेट विनियोजन गर्ने कुरामा हामी प्रयत्नशील छौ । स्कूल जाने नपढाउने, हाजिर गर्ने स्कूल नजाने जस्ता सबैखाले विकृति हटाउन वडाले सबै स्कुलमा विद्युतीय हाजिरी राखी स्कूलहरुलाई मर्यादित र अनुशासित, विवेकशील र लगनशील शिक्षा नीति अवलम्बन गर्ने वातावरण निर्माण गर्न अनुगमनको काम सुरु गरिसकेका छौ ।
माथि उल्लेखित सामुदायिक विद्यालयहरुमा क्रमिक रुपमा अंग्रेजी माध्यमबाट पठनपाठनको काम संचालन भईरहेको छ । यस वडामा निजी क्षेत्रबाट ४ वटा माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन् भन्ने १ उच्च माध्यमिक शिक्षा संचालनमा रहेका छन् । सामाजिक सुरक्षा भत्ताको वेथितिलाई रोक्नको लागि जेष्ठ नागरिक अपाङ्ग,दलित, एकल महिलाहरुलाई राज्यले दिने भत्ता एन.आइ.सि.एसिया बैकमार्फत वितरण गरिएको छ ।

स्वास्थ्य क्षेत्रको अवस्था
विर्तामोड नगरपालिका भित्रका १० वटा वडामध्ये यस वडाको जनसंख्या र भूगोलको हिसावले ठुलो वडाको रुपमा रहेको हुनाले स्वास्थ्य क्षेत्रको अवस्था एक हेल्थपोष्टले धान्न गाह्रो परिरहेको छ । बढ्दो शहरीकरण र औद्योगीकरणले स्थानीय स्थानमा बसोवास गर्ने जनताको स्वास्थ्यमा समस्याहरु देखिन थालेका छन् वातावरण प्रदूषण भैरहेको छ । यस कुरामा ध्यान दिएर हामीलाई सातकठ्ठा जग्गा दान दिने जग्गादाता चन्द्रप्रसाद बजगाई ज्यूलाई सम्मान एवं मुरीमुरी धन्यवाद दिन चाहन्छु । उक्त जग्गामा १ तल्ले भवन घेरावारा र भवन निर्माणको काम सम्पन्न भएको छ साथै निकट भविष्यमा चारपाने स्वास्थ्य चौकी आफ्नो भवनमा सर्ने कुरा जानकारी गराउन चाहन्छु ।
सेवाग्राहीलाई औषधी निःशुल्क वितरण गर्ने कामले गरिब तथा असहाय परिवारलाई ठूलो सुविधा पुगेको छ । गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की उपलब्ध गराउने नगरको निर्णयबमोजिम सुत्केरी भएपछि मात्र सुत्केरीको स्याहार सुसार गर्नुपर्छ भन्ने हाम्रो पुरानो सामाजिक परम्परालाई निरुत्साहित गर्दै यस वडाका जनतालाई गर्भवती हुँदै स्याहार सुसार गर्नुपर्छ भन्ने जनचेतनाको विकास गर्दै क्याल्सियम खुवाउने कार्य सुरु गरिएको छ । साथै यस वर्ष १०० घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको छ । हाल यस स्वास्थ्यचौकीमा १ जनस्वास्थ्य निरीक्षकसहित ५ जना कर्मचारीहरु कार्यरत छन् ।

खेलकुद विकासतर्फः
खेलकुदको क्षेत्रमा वडास्तरीय खेलकुद विकास समिति गठन गरिएको छ ।उक्त समितिले २०७९÷१२÷२७ गतेदेखि २०८०÷०१÷०१ सम्म विभिन्न खेलकुदको ५ दिने खेलकुद महोत्सव आयोजना सभ्य तथा भब्य रुपमा सम्पन्न गरेको छ । साविक वडा स्तरमा खेलमा प्रतिष्पर्धा गर्दै बाहिरी जगतसँग पनि प्रतिष्पर्धा गर्ने जनशक्ति निर्माण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको थियो । उक्त ५ दिने खेलकुद महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा खेलकुद समितिलाई धन्यवाद दिन चाहन्छु । यसै वडाभित्र रहेको एकता स्पोर्टिङ क्लबले वीर अमरसिंह मा.वि.को खेलमैदानमा यसै बर्षदेखि १४० जना ८ बर्ष माथिका छात्रछात्रालाई फुटबल एकेडमीको रुपमा प्रशिक्षण गराउँदै आएको र उक्त कार्यको सम्मान गर्दै उक्त क्लवका अध्यक्षलगायत सिंगो समितिलाई धन्यबादसहित अझ सफलतापूर्वक संचालन गर्न प्रेरणा प्रदान गर्दछु ।

सुशासन व्यवस्थापनतर्फ
यस वडाको शान्ति सुरक्षा कायम गर्ने दायित्व हामी सबैको हो । क्रमशः शहरीकरणतर्फ गइरहेको यस वडाको अवस्थालाई मध्यनजर राखी एक प्रहरी चौकी आवश्यक देखिएको छ । यसको लागि वडाभित्र रहेको लोकमार्गको उत्तरतर्फको सार्वजनिक जमिनको खोजी गरी एक प्रहरी विटको स्थापना गर्न यसै वडामा केन्द्रीय कार्यालय रहेको नेपालकै उत्कृष्ट सहकारी संस्थामध्येको सहारा नेपाल साकोस साथै स्थानीय उद्योगी व्यवसायीसँग साझेदारीमा भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चारपाने चोकमा यात्रुहरुको चापलाई हेरी एक सार्वजनिक शौचालयको आवश्यकता टड्कारो रुपमा देखिएको छ । यसको निराकरणको लागि पश्चिम बसस्टेण्डको आसपास सार्वजनिक जग्गा खोजी सार्वजनिक शौचालय निर्माण गर्न नगरपालिकासँग बजेट विनियोजनका लागि माग गरी लक्ष्य पूरा गर्ने उद्देश्यका साथ बजेटले सम्बोधन गर्ने जानकारी गराउन चाहन्छु । चारपाने चोक र चैतुवारी चोक सडकमा हालसम्म चलिरहेको हाटबजार कम्तीमा ५–५ कठ्ठा जग्गा बजारको लागि पायक पर्ने स्थानमा जग्गा दान गरी दिनुहुन विनम्र अनुरोध वडा कार्यालयले गर्दछ । उल्लेखित जग्गा प्राप्त भएपछि त्यसको भौतिक संरचना निर्माण गर्ने काम नगर तथा वडाले गर्ने कुरामा तपाई उपस्थित सम्पूर्ण महानुभावहरुलाई विश्वास दिलाउन चाहन्छु ।
औद्योगिक क्षेत्रको अवस्था
विर्तामोड नगरपालिकाको वडा नं. २ नगरकै औद्योगिक क्षेत्रको रुपमा विकास भैरहेको छ । मासिक २ करोड रुपैयाँ राष्ट्रलाई राजस्व बुझाईरहेको यो क्षेत्रमा रहेका उद्योगहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । उद्योगहरुवाट वातावरणमा परेको समस्या स्थानीय जनजीवनमा उत्पन्न हुने समस्याहरुको क्रमशः निराकरण गर्दै स्थानीय जनताको रोजगारको वातावरण सिर्जना गर्दै समृद्ध वडाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ ।
यस वडामा हालसम्म संचालित उद्योगहरुमा
१ भेनियर तथा प्लाइ उद्योग १८ वटा
२ सिमेन्ट उद्योग १ वटा
३ रड उद्योग २ वटा
४ ईटा उद्योग २ वटा
५ कोइला डिपो २ वटा
६ कुरमुरे उद्योग १ वटा
७ ग्यास उद्योग १ वटा
८ पाइप उद्योग २ वटा
९ सिमेन्टको बिजुलीको पोल निर्माण उद्योग १ वटा
१० काठ समिल ५ वटा
११ हेचरी १ वटा
१२ धान मिल १० वटा
१३ फम उद्योग १ वटा
१४ ब्लक उद्योग २ वटा
१५ फर्निचर उद्योग १ वटा
१६ रेडीमिक्स कंक्रिट उद्योग २ वटा
१७ रङ उद्योग २ वटा
१८ ब्लाक टप उद्योग १ वटा
१९ टायर रिसोलिङ उद्योग १ वटा
जम्मा ५६ वटा

माथि उल्लेखित उद्योगहरुमा काम गर्ने बिदेशी कामदारहरुबाट स्थानीय जनतालाई पर्ने गएको असुविधा र समस्याहरुको निराकरण गर्न उद्योगी व्यवसायीहरुसँग राज्यको नीतिअनुरुप यो वडा कार्यालयले आपसी छलफल गरि डेलिकेशनबाट प्राप्त सुझावलाई उचित निकास दिने कुरा जानकारी गराउन चाहन्छु ।

भौतिक निर्माण तथा पूर्वाधार
विर्तामोड २ बसोबास गर्ने योग्य स्थान भएकोले नै होला हाल यस स्थानमा बसाइ सरी आउनेहरुको चाप बढिरहेको छ । वस्ती विकाससँगै बाटाघाटाहरु बढिरहेका छन् । ती सबै बाटाघाटाहरुको मर्मत सुधार एवं संभार गर्नुपर्ने दायित्व हाम्रो हो । चारपाने– राजगढ सडक यसै आर्थिक वर्षदेखि कालोपत्रे सम्पन्न भएको छ । रामचोक– कुमालवाडी सडक वीर अमर सिंह माविसम्म कालोपत्रे सम्पन्न भएको छ । बानालाल मार्ग त्रिशुली चोक जाने सडकको डि. पी. आर. गरि योजना पेश गरिएको छ । साथै प्रभुलाल मार्गदेखि नयाँनगर हुँदै चारपाने शनिश्चरे सडकसम्म जोडिने गरी सडकको कालोपत्रे निर्माणको अन्तिम चरणमा छ । चारपाने चोकबाट एकता मार्ग हुँदै कनकाई नगरपालिका जोड्ने सडकमा दुवैतर्फ नाला निर्माण गरी कालोपत्रे गर्न बाँकी भएको सडकलाई नगर तथा प्रदेशसँग रकम माग गरी योजना कार्यान्वयन गरिने छ । साथै वडाभित्र रहेका साना र छोटा सडकहरुको लागत इस्टिमेट गरी लागत रकमको आधारमा क्रमशः सबै बाटाहरुको स्तर उन्नति गरिने छ । विर्तावजार घैलाडुब्बा गोकुल जोशी मार्गमा ४ वटा पुल दुवैतर्फ प्लमसहित सववेससम्मको काम यसै बर्ष सम्पन्न गरिने छ। चैतुबारीबाट सोमबारे वडा सिमानासम्म यसै आ.ब.भित्र कालोपत्रे सम्पन्न हुने चरणमा छ भने चैतुबारीबाट महारानी चौक जाने बाटो पनि ठेक्काको प्रकृयामा रहेको छ । यस वडाको दक्षिणपूर्व रहेको अदुवा खोलामा सिंचाइ डिभिजन कार्यालयसंग समन्वय गरि रु २५ लाख बराबरको नदी तटबन्ध गरिएको छ । यसै बर्ष यस वडाको पश्चिममा रहेको बरगाछी पाथिभरा टोल विकासभित्र घाग्रा खोलामा प्रदेश सरकारसंग समन्वय गरि पुलको डिपिआर सम्पन्न गरि पुल निर्माण भइरहेको छ ।चैत महिनामा आएका असिना पानीले भएको क्षतीमा रेडक्रस सोसाइटी बिर्तामोड न.पा २ नं. कार्यालयको सहयोगमा ८० घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । रेडक्रस सोसाइटी संस्थाले सहयोग गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

कृषि तथा पशुपंक्षीको क्षेत्रको अवस्था
कृषिलाई निर्वाहमुखी अवस्थाबाट क्रमश सुधार गर्दै आर्थिक उपार्जनको स्रोतको रुपमा विकास गर्न व्यवसायिक कृषि प्रणालीतर्फ सबै किसानहरुलाई तालिम प्रशिक्षण गर्ने उद्देश्यले भर्खरै वडा नं. २ ले दुई दिने कृषक तालिम सम्पन्न गरेको छ । सबै किसानहरुलाई अग्र्यानिक कृषि उत्पादन बृद्धि गर्न नयाँ–नयाँ प्रविधि कृषि औजार नगरले वितरण गरेको छ । कृषिमा अनुदान दिएर कृषकलाई हौसला दिनुपर्ने आवश्यकता छ । वडा नं. २ का प्रत्येक टोलहरुमा पशुपंक्षीपालन र कृषि तालिम आगामी वर्षमा वडाले गर्ने लक्ष्य राखेको छ । कृषि फलपूmल, दुध, मासुमा वडा नं. २ आत्मनिर्भर हुने र नगरभरि नै यस वडाले प्रभाव कामय गर्ने लक्ष्यका साथ विशेष कार्यक्रम तर्जुमा गर्नेछौ ।यस बर्ष कृषि सिंचाईअन्तर्गत २० वटा मोटर बोरिङ प्राप्त गरेको छ । पशुपालन र कृषितर्फ गरि कृषक लक्षित कार्यक्रम संचालनमा सहभागी जनाएको छ । कृषकहरुले विभिन्न जिन्सी सामग्रीहरु प्राप्त गरेका छन् ।जसबाट कृषकलाई प्रोत्साहन मिलेको छ र यसलाई निरन्तरता दिइने छ ।

सहरी विकासतर्फ
शान्ति सुरक्षा, आगलागी साथै दैवी प्रकोपजस्ता विपद व्यवस्थापनको लागि वडामा रहेका सबै घरहरुको घर नं. राख्ने, नामकरण गर्न बाँकी भएका सडकहरुको नामकरण गर्ने काम यसै वर्षभित्र गरिने छ । सबैलाई घर निर्माण गर्दा नक्सा पास गरेर मात्र घर निर्माण गर्न परिपत्र जारी गरिने छ । नक्सा तयार नगरी बनाएका घरहरुको लगत संकलन गरी सबै घरलाई वडाको राजस्व संकलनको दायरामा ल्याइने छ । सुकुम्बासी तथा विपन्न परिवारहरुका फुसका कच्ची घरहरुको लगत संकलन गरी संघ सस्थाहरुसँग साझेदारीमा पक्की घर निर्माण गर्न नगर, प्रदेश, केन्द्रका सघन शहरी विकास सम्बन्धी कार्यालयहरुवाट रकम माग गर्न सिफारिस यसै वर्ष गरिने छ । चारपाने चोकमा निर्माणाधिन सामुदायिक भवनको लागि सार्वजनिक जग्गामा थप जग्गा दिएर उक्त भवन निर्माण गर्न योगदान पु¥याउनुहुने आदरणीय दाई नारायण राजवंशीलाई सम्मान व्यक्त गर्दछु । साथै सहीद रामनाथ दाहालको स्मृतिमा चौतारीको नाममा रहेको जग्गा दान गर्ने दाहाल परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । उक्त सामुदायिक भवनलाई पूर्ण गर्नको लागि वडा,नगर,प्रदेशमार्फत सम्पन्न गर्न हामी प्रयत्नशील छौ ।
हाटबजार वा बस्ती सडक कुनै पनि ठाउँमा विहानैदेखि मादक पदार्थ खाएर बाटोमा लड्ने, बेवारिस बन्ने ,होहल्ला गर्ने उच्छृंखल गतिविधि गरी समाज र वातावरणलाई कुरुप बनाउने गलत प्रवृत्तिलाई नित्साहित गर्न आगामी आर्थिक वर्षदेखि बेलुका ४ बजेदेखि ९ बजेसम्म मात्र खुला रुपमा जाँड रक्सी बेच्न पाइने छ । विद्यालयको आसपासबाट २०० मिटरभित्र रहेका भए जाँड रक्सी पसल यसै आर्थिक वर्षभित्र हटाउन आजकै मितिबाट कडाइका साथ नियम लागु गरिने छ । अन्य मादक पदार्थ ,गाँजा भाङ लागूऔषध खाने जो कोहीलाई सूचना वा थाहा पाउनेवित्तिकै शान्ति सुरक्षाको घेरामा लगिने छ । समाजलाई सुधार गर्दै लाने विषयमा तपाई हामी सबैको दायित्व भएकोले कसको छोरा, कसको छोरी ,नाता कुलकुटुम्ब नहेरी कुलतमा लागेका बालबालिकाहरुको संरक्षण गर्न र समाजको योग्य नागरिक बनाउन हामी तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छौ । आगामी बर्षदेखि लागु हुने गरि निम्न सामाजिक सुधारका कामहरुमा जोड दिइने छ ।
सार्वजनिक रुपमा मादक पदार्थ खाएर मातेर हिड्नेलाई कानुनी कार्वाहीको दायरामा तुरुन्त ल्याईने छ ।
घरायसी मदिरा बिक्री वितरणमा नियन्त्रण गरिने छ ।
बिद्यालय क्षेत्रको २०० मिटर वरिपरि मदिरा बिक्री गर्न निषेध गरिने छ ।
बिद्यालय क्षेत्रको १०० मिटर वरिपरि सुर्तीजन्य मधु गुट्का बिक्री गर्न पाइने छैन ।
१८ बर्षभन्दा मुनिका बच्चाले मदिरा र सुर्तीजन्य वस्तु खरिद वा बिक्री गर्न नपाउने व्यवस्था गरिने छ ।
मान्यताप्राप्त मदिरा पसलले खुला रुपमा बेलुका ४ बजेदेखि बेलुका ९ बजेसम्म बिक्री गर्न पाउने र ९ बजेदेखि सबै पसलहरु बन्द गरिसक्नु पर्ने छ ।
वृक्षरोपणमा बाँस आँप बर पिपलजस्ता अग्ला जातका बिरुवाहरु आफ्नो जग्गाको सिमानादेखि ५० फिट दूरीमा ,नरिवल २५ फिट, सुपारी १५ फिट र फुलको बिरुवा ५ फिटको दुरीमा रोप्नुपर्ने छ ।
वृक्षरोपण गर्दा जडिबुटीयुक्त र हरियाली प्रकारका बोटबिरुवा रोप्न प्रोत्साहन गरिनेछ ।
आफ्नो टोल भित्रका सडकहरुको नामकरणको काम टोल विकास संस्थालाई जिम्मेवारी दिइने छ ।
घरभाडा,पसलभाडा दिँदा लिने व्यक्तिको अनिवार्य रुपमा फोटो सहितको वायोडाटा राख्नुपर्ने छ ।
ड्ड सबै उद्योगहरुमा मजुदरको फोटोसहितको बायोडाटा अनिवार्य राख्नु पर्नेछ । साथै नगरपालिकामा सूचीकृत गराउनु पर्नेछ ।
ड्ड पसलमा गुणस्तर खाद्य सामग्री राख्नु पर्ने साथै अनिवार्य रुपमा देखिने गरि मूल्यसूची पान र करमा दर्ता रहेको प्रमाणपत्र राख्नुपर्ने छ ।
पुराण पूजा विवाहमा बेलुका ९ बजेपछि ठुलो ध्वनिमा माइक, साउण्ड बक्स बजाउन नपाइने नियम लागु गरिएको छ ।
यसै बर्षदेखि ईटा निर्माणका लागि माटो ढुवानी गर्न पाइने छैन ।
ऐलानी पर्ती जग्गा र छुट दर्ता जग्गा भोगचलनको आधारमा नापी ऐन निर्माण भएपछि धनीपुर्जा वितरण गरिने छ ।
सार्वजानिक मन्दिर गुठीका जग्गाहरु सुरक्षा र पारदर्शितामा जोड दिइने छ ।
परम्परागत पानीका निकासहरु बन्द गर्न पाइने छैन ।
खेती,घरमा जाने बाटोको निकास र पानी पैनीको निकास अनिवार्य दिनुपर्ने छ ।
प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न रोक लगाउने नीति लागु गरिने छ ।
अग्र्यानिक बाली प्रयोगमा ल्याउने छ र हानिकारक विषादी प्रयोगमा न्यूनीकरण गर्दै लगिनेछ ।
घर नक्सा,सडक ढल, वाल कम्पाउण्डको मापदण्डलाई कडाईका साथ लागु गरिने छ ।
दर्ता नभएका सबै पसलहरुलाई करको दायरामा ल्याइने छ ।
सडक भार क्षमता भएका सवारीसाधनलाई मात्र संचालन गर्ने दिइने छ ।
सवारी संचालन गर्दा सूचना बोर्ड हेरी संचालन गर्नुपर्ने छ
सार्वजनिक पैनी दर्ता वा निजी रुपमा प्रयोग गरेको भए दर्ता बदर र सरकारी सम्पत्तिको रुपमा राखिने छ ।
स–साना विवाद झगडामा निवेदन दस्तुर १०० र मिलापत्र दस्तुर ५००÷५०० लिएकोे छ ।

वातावरण तथा फोहोर मैला व्यवस्थापन
यस वडामा भएका सबै सडकहरुको दायाँ बायाँ बिरुवा लगाई हरियाली बनाउने फुलहरुका बिरुवा रोपेर सुगन्धित बनाउने लक्ष्यका साथ वातावरण सुधार गर्दै लगिने छ । फोहोर मैला व्यवस्थापनको लागि प्रत्येक टोलको केन्द्र भागवाट सूचनाको आधारमा फोहोर संकलन गरी फोहोर मैला व्यवस्थापन गर्ने योजना निर्माण गरिएको छ । हाल नगरमा रहेका फोहोर मैला उठाउने साधनलाई निश्चित समयतालिका बनाई सोही आधारमा फोहोर मैला संकलन गरिने छ । र प्रत्येक टोल विकास संस्थाले कुहिने नकुहिने फोहोर वर्गीकरण गरेर राख्नु पर्ने छ ।

राजश्व संकलन
यस वडा नं. २ को २०७९ जेष्ठदेखि २०८० बैशाख मसान्तसम्मको वडावाट राजस्व, निवेदन शुल्क, मालपोत रकम र विभिन्न विषयका सिफारिसहरु शुल्कवाट रु. ७२३४२५४.५९।– रकम आम्दानी भएको छ । (पौडेल बिर्तामोड २ का वडाध्यक्ष हुन् ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्