झापा, जेठ १६ । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ ।

मंगलबार कोशी प्रदेश सरकारले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’ मन्त्री सिटौलाले भनेका छन्, ‘नामांकनको बारेमा आफ्ना विमतिहरुलाई शान्तिपूर्ण रुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’
आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेका थिए ।त्यस्तै सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । नाम संशोधनका लागि प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिमार्फत पहिचान पक्षधरले प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन् । विराटनगरलगायत विभिन्न जिल्लाहरुमा झडप समेत भएका छन् ।त्यसक्रममा एक जना आन्दोलनकारीको मृत्यु भइसकेको छ ।