झापा, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक-२०७९ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस अघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक पुनःविचार गरी पारित गर्न राष्ट्रपति समक्ष दोस्रो पटक पेश गरिए पनि भण्डारीले प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको थियो। सोही विधेयक नयाँ जनादेशसहितको प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए । सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निणर्यप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्