एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

लिग प्रशिक्षकहरुको संघले ५२ वर्षीय ग्वार्डिओलालाई वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो । हरेक डिभिजनका इङ्लिस लिग खेल्ने क्लबका प्रशिक्षकहरुको संघले ग्वार्डिओलालाई यो अवार्ड प्रदान गरेका हुन् । स्पेनिस नागरिक ग्वार्डिओलाले संघको तर्फबाट तेस्रोपटक सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका हुन्। ग्वार्डिओलाको प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले यो सिजनको प्रिमियर लिग उपाधि पनि जितेको थियो । म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक प्रिमियर लिग जितेको हो । पछिल्ला ६ सिजनमा म्यानचेस्टर सिटीले ग्वार्डिओलाको प्रशिक्षकत्वमा पाँचवटा प्रिमियर लिग उपाधि चुमिसकेको छ । लिग म्यानेजरहरुको संघबाट तीन वा सोभन्दा बढी पटक यो अवार्ड पाउने ग्वार्डिओला तेस्रो प्रशिक्षक हुन् । डेभिड मोयस र सर एलेक्स फर्गुसनले मात्र तीन वा सोभन्दा बढी पटक यो अवार्ड पाएका छन् । यो अवार्ड सबैभन्दा बढी पटक पाउने प्रशिक्षक भने सर एलेक्स फर्गुसन हुन् ।

ग्वार्डिओलाकै प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले आगामी शनिबार म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनल खेल्दैछ । त्यसपछि जुन १० तारिखमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ । प्रशिक्षकहरुको संघबाट पाएको अवार्ड आफ्ना लागि निकै महत्वपूणर् रहेको बताए । ‘यो अवार्डले निकै ठूलो अर्थ राख्छ किनभने मेरै सहकर्मीहरुले मलाई यो अवार्डका लागि योग्य सम्झिएका छन,’ उनले भनेका छन् । प्रशिक्षकहरुको संघले वर्षको सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्ड भने एमा हायसलाई प्रदान गरेको छ । एमा चेल्सीको महिला टोलीकी प्रशिक्षक हुन् । उनले लगातार चौथो पटक यो अवार्ड जितेकी हुन् । समग्रमा भने उनले छैटौं पटक यो अवार्ड हात पारेकी हुन् । एमाको प्रशिक्षकत्वमा चेल्सीले लगातार चौथो पटक महिला सुपर लिगको उपाधि जितिसकेको छ । यो सिजन महिला सुपर लिगको उपाधि चुम्नेक्रममा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई दुई अंकले पछि पारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्