झापा, जेठ १९ । सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुलेको छ ।

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चारजना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका-६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीनजना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका-५ घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् । सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ । स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्