भद्रपुर ,जेठ २१ ।सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै झापालगायत ७७वटै जिल्लाका विद्यालय कर्मचारीहरुले चरणबद्ध आन्दोलन शुरु गरेका छन् ।

पहिलो चरणको आन्दोलनअन्तर्गत झापाका विद्यालय कर्मचारीहरुले आज शिक्षा विकास तथा समन्वय ईकाई भद्रपुरमा २ घण्टा धर्ना दिएका छन् ।

विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको निर्णयबमोजिम झापा अध्यक्ष चन्द्रप्रसाद प्रसाईं ,भद्रपुर अध्यक्ष करकचन्द्र राजवंशीलगायतको नेतृत्वमा गएका जिल्लाभरिका सामुदायिक बिद्यालयका कर्मचारीहरुले समन्वय ईकाई झापाको मुल गेटमा ११ देखि १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । शिक्षा ऐन जारी भएपछि कर्मचारीहरुको दरबन्दीको ब्यबस्था गरिनु पर्ने,६०बर्ष माथिका कर्मचारीहरुलाई न्यायोचित एकमुष्ठ उपदानको ब्यबस्था गरिनु पर्ने माग रहेको छ । त्यसैगरी सहयोगी कर्मचारीको २६ हजार र सहायक कर्मचारी लेखापालको तलब सुविधा ३६ हजार पुर्याउनु पर्ने उनीहरुले माग गरेका छन् ।

झापाका ३ सय ६५ वटा सामुदायिक विद्यालयमा ५०० को हाराहारीमा कर्मचारीहरु रहेका छन् । आफूहरुको मागलाई सरकारले सुनुवाई नगरे रिले अनशनलगायत विद्यालय तथा विद्यालय प्रशासन समेत बन्द गर्ने योजना रहेको झापा अध्यक्ष प्रसाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्