भद्रपुर, जेठ २१ । भद्रपुरको कृषि उपजको उन्नतिमा टेवा पुग्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो ।
भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि दशक पार गरिसकेको छ । पछिल्लो दुई वर्षयता भद्रपुर नयाँ बजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँको रूपमा परिणत भएको शीत भण्डार बेवारिसे अवस्थामा पुगेको छ ।

त्यतिबेला कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा आधा दशक बढी भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् ।
जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष भइसकेको छ ।
कुल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागत इस्टिमेटमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनु पर्ने थियो । १३ वर्षे अवधि पूरा हुँदै गर्दा अहिलेसम्म निर्माणको काम सकिएको देखिदैन । यस विषयमा नगर प्रशासनले कुनै चासो राखेको छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे भएको नगरबासीको दुखेसो छ ।
भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर–१ (हाल भद्रपुर–५) स्थित नयाँ बजारमा मेची नदीको डिलमा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण सुरु भएको थियो । ठेकेदारले बल्लतल्ल यस अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोकन गरिसकेका छन् । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भएपनि ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी छ । गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेपछि ठेकेदार सोनी दुई वर्ष अगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि काम भने केही गरेको अवस्था छैन । ‘गृहले कारवाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्र्किवहीन बनेको नगरपालिका स्रोतको दाबी छ । कोल्ड स्टोरेजमा केही महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिन्छ ।

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पुर्याउन नेपाल–भारतमैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्कियोस् भनेर हतार–हतार नेपाल–भारतमैत्री संघमा आबद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समाविष्ट गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए । उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकायमार्फत मात्र सहयोग गर्ने भएपछि कृषक समूहले साविक भद्रपुर—१ मा रहेको गोविन्द सरियाको झण्डै एक बिगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको हो ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकारसम्पन्न भएपनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गराइ सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पुर्याउन सकेका छैनन् । केही वर्षयता भद्रपुर बजार दक्षिणका चौपाया राख्ने गौशाला बन्दै गएको शीतभण्डार निर्माण सम्पन्न हुने नहुने अनिश्चित देखिएको छ ।

यता नगर प्रमुख गणेश पोखरेल शीत भण्डार निर्माणको अन्तिम चरणमा रहेकोले प्राविधिक पक्षका वारेमा सरोकारवालासित छलफल चलाई सञ्चालनका लागि हस्तान्तरण प्रकृयामा लैजाने तयारी गरिरहेको बताउँछन् । उनले चौपाया राखिएको सम्बन्धमा जानकारी नभएको भन्दै बुझेर चौपाया भए हटाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्