भद्रपुर, जेठ २१ । झापाको भद्रपुरमा लागूऔषध ब्राउनसुगरको बेचबिखनमा संलग्न एक कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ७ निवासी ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

विश्वकर्माको घरमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट शनिवार बिहान ११ बजे खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको इलास्टिकमा फोल्ड गरी कालो प्लास्टिकको टुक्रामा पोको बनाई लुकाइछिपाई राखेको २ ग्राम १२० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।

ब्राउनसुगर फेला परेपछि प्रहरीले उनको कोठाको दराजबाट तीन थान डिजिटल तराजु, विभिन्न कम्पनीको १६ थान मोबाइल समेत फेला पारेको छ । पक्राउ परेका कारोबारी विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालले बताए ।
प्रहरीले केही दिनअघि भद्रपुर नाकाबाट ब्राउनसुगरको कारोबार गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारीका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेका छन् । भद्रपुरबाट ब्राउनसुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि सुराकीको आधारमा उनीहरू पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्