झापा, जेठ २३ । झापाको केही भागमा हिजो साँझ वर्षा भएपनि गर्मी घटेको छैन । गर्मी घटेको भन्दै केही विद्यालयहरुले विदा घटाएर आजदेखि पठनपाठन सुचारु गर्ने भएका छन् भने केही विद्यालयहरुले विदा थप गरेका छन् ।

प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो संचालक रहेको लालिमा स्कूलले आजदेखि विद्यालय संचालन गर्ने भएको छ । तर,हल्दिबारी गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा जेठ २६ गतेसम्म विदा थप गरेको छ । गत जेठ १९ गतेबाट २२ गतेसम्म विदा दिने निर्णय गरिएकोमा अझै पनि मौसममा सुधार नभई तापक्रम नघटेको साथै मौसम पूर्वानुमान महाशाखाले तातो हावा ‘लू’ लाग्न सक्ने सम्भावना रहेको भन्दै थप चार दिन विद्यालयहरु विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिएका छन्।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी मध्य तथा पूर्वी तराईका भू–भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ । जसका कारण सो भू–भागहरूमा तातो हावा ‘लू ’चलिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्