एजेन्सी । दक्षिणी युक्रेनको खेरसान प्रान्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् ।

बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ । नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन् । उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् । युक्रेनी राष्ट्रपतिले बाँध भत्किनुको दोष रुसमाथि थोपरेका छन् । बाँध भत्किएपछि त्यहाँबाट निस्किएको पानी डिनिप्रो नदीमा मिसिएको बताइएको छ । त्यसैले राष्ट्रपति जेलेन्स्कीले नदी आसपास रहेका सहर र गाउँका नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । रुसले भने बाँध भत्किनुको पछाडि रुसको कुनै हात नरहेको दाबी गरेको छ । बाँध भत्किएपछि आएको बाढीका कारण थुप्रै गाउँ जलमग्न भएका छन् । तल्लो क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् । स्थानीय प्रशासनले खेरसान नजिकै रहेको मिकोलाइव क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । बाढी प्रभावितका लागि आवास, खाना र लत्ताकपडाको पनि व्यवस्था गरिँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्