बिर्तामोड, जेठ २५ । नगर गौरवको रुपमा रहेको बिर्तामोड नगर अस्पतालका लागि नयाँ भवन निर्माण हुने भएको छ ।

भवनको बिहीवार एक कार्यक्रमका बीच नगर प्रमख पवित्रा महतारा प्रसाईले विधिवतरुपमा शिलान्यास गरिन् । अहिले सञ्चालनमा रहेको नगर अस्पतालकै छेउमा निर्माण हुन लागेको भवन ३ तले सुविधासम्पन्न हुने जनाइएको छ ।

भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।
भवनमा निर्माणसंगै नगर अस्पतालको कम्पाउण्डभित्र वेस्ट म्यानेजमेन्ट विल्डिङ, पोष्टमार्टम व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड हाउस , फार्मेसी व्लक, वरिपरि घेराबारा र भुँइमा पेवर्स लगाइने छ ।
अपांगमैत्री बनिने नयाँ अत्याधुनिक भवनभित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेलिभरी कक्ष, व्लड बैंक, मल्टिपर्पोज हललगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नति गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताइन् । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताइन् । उनले पर्याप्त बजेटको अभावमा सोचेजति काम गर्न नसकेपनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
नगर प्रमुख प्रसाईले मानिस स्वस्थ भएन भने कुनै पनि काम गर्न नसक्ने भन्दै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताइन् ।बिर्तामोडलाई राम्रो नगरपालिका बनाउन सबै एकजुट भएर लाग्नु पर्नेमा उनको जोड थियो ।
यस्तै उप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको यस हस्पिटललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नु पर्ने बताए । उनले हस्पिटलको एउटै उद्धेश्य सर्वसुलभ ढंगले जनतालाई सेवा दिनु रहेकोले कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने बताए ।
यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले १८ करोड ८५ लाख रुपैयाँको इस्टिमेट भएपनि १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का लागेको जानकारी दिए । उनले भवन निर्माणपश्चात् जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउने बताए । अहिले सञ्चालनमा रहेको भवन सानो रहेकोले दुःखले सेवा प्रदान गरिरहेको उनको भनाई थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमको सञ्चालन नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य,नगर अस्पताल व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसअघि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा निर्माण भएको १५ शैयाको भवन सभामुख देवराज घिमिरेले फागुन २० गते उद्घाटन गरेपश्चात् नगर अस्पताल सञ्चालनमा आएको छ । नगर अस्पतालमा अहिले एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टरसहितको सेवा उपलव्ध छ । यहाँबाट दैनिक २ सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्