झापा, जेठ २६ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३.४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह पोहोरभन्दा १३.४ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । जसले गर्दा रेमिट्यान्स रकम वृद्धिमा उल्लेख्य टेवा पुगेको हो । १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्