बिर्तामोड , जेठ २८ ।झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका सभामुख देवराज घिमिरेले छक्याएपछि बिर्तामोड ३ र ९ का बासिन्दाहरु यतिबेला आक्रोशित बनेका छन् ।

बिर्तामोड ३ को आदर्श चौकदेखि हल्दिबारीको सिमाना क्यानरी बोर्डिङसम्मको बाटोलाई बजेट दिने आश्वासन दिएर बजेट कटाएपछि सभामुख घिमिरेप्रति त्यस क्षेत्रका उपभोक्ताहरु आक्रोशित बनेका हुन् । आफ्नो निर्वाचन क्षेत्रको बाटो अत्यन्त जीर्ण भएपछि आदर्श चौकदेखि क्यानरी बोर्डिङसम्मको पाँच किलोमिटर सडक विस्तारसहित कालोपत्रे गर्नका लागि सभामुख घिमिरेले करिव ३ महिनाअघि प्रस्ताव आह्वान गरेका थिए ।त्यसपछि स्थानीयले सडक डिभिजन कार्यालय दमकलाई करिव ८ करोडको इस्टिमेट तयार गर्न लगाई सभामुखलाई बुझाएका थिए । आगामी आर्थिक वर्षको बजेटमा आफ्नो तर्फबाट पेश गरिने योजनाको सूचीमा सबैभन्दा माथि त्यसलाई राखिसकेको सभामुखले बताएका थिए । त्योसंगै नेकपा एमाले बिर्तामोड नगर कमिटीले पनि पहिलो नम्बरमा सोही बाटोलाई सिफारिस गरेको थियो ।तर, बजेट दिने बेलामा सभामुखले त्यस बाटोका लागि कुनै पनि बजेट छुट्यानन् ,अरु योजनाका लागि त्यसलाई कटाइदिए ।

आफूहरुको बाटोमा बजेट छुट्याउने आश्वस्त पारेर सभामुख घिमिरेले सम्पूर्ण उपभोक्ताहरुलाई छक्याएको आदर्श टोल विकास संस्थाका अध्यक्ष कुमार दाहालले बताए । उनले सभामुखले आफूहरुलाई ‘माछा माछा भ्यागुता’बनाएको प्रतिक्रिया दिए । शहीद चन्द्र मार्ग नामकरण गरिएको त्यस बाटोलाई बिर्तामोड नगरपालिकासंगै सम्बन्धित बिर्तामोड ३ र ९ नं वडा कार्यालयले पनि उपेक्षा गरेको स्थानीयको गुनासो छ । बिर्तामोडदेखि हल्दिवारी , कचनकवल जानका लागि प्रयोग हुँदै आएको अति व्यस्त सो सडक जीर्ण भइसक्दा पनि बिर्तामोड नगरपालिकाले मर्मतका लागिसमेत बजेट छुट्याउन सकेन । स्थानीयदेखि प्रदेश र संघीय सरकारले समेत बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । ३२ फुटको कालोपत्रे बाटो स्थानीयले मिचेर अहिले १४ फुटमा पु¥याएका छन् । अति ब्यस्त त्यस सडकमा पिचको भागमा मात्र आवतजावत गर्न सकिन्छ भने पिच भत्किएर हिडिनसक्नु भएको छ । बजेट ल्याउन नसकेको बिर्तामोड ९ नं वडा कार्यालयले केही दिनअघि ग्रेडरले जोतेर सम्याएको छ ।

बिर्तामोड ३ को आदर्श चौकदेखि बिर्तामोडको ९ हुँदै हल्दिबारी जोड्ने सो क्षेत्रीय मार्ग स्थानीय तहसंगै सभामुख घिमिरेले समेत बेवास्ता गरेको स्थानीय संजय पौड्यालले बताए ।उनले आफूहरुको बाटोमा बजेट नदिएर सभामुखले आम उपभोक्ताहरुलाई निराश बनाएको बताए । सभामुख घिमिरेको निर्वाचन क्षेत्रमा बजेट परेका योजनाहरु सार्वजनिक भइसकेको छ । सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जसरी भएपनि त्यस बाटोको लागि बजेट छुट्याउने पहल भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्