झापा , जेठ २८ । सीमावर्ती भारतीय बजार बनबासा नजिकै सडक दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।

भारत उत्तराखण्डको बनबासा-खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा कार र दुई स्कुटर ठोक्किँदा चारजनाको मृत्यु भएको हो । भीमदत्त नगरपालिका-२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरु सबै कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो । विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्