झापा, जेठ २८ । विगत दुई वर्षअघिदेखि चिया उद्योग संचालन गरी अर्थोडक्स र ब्लाक (टी) चिया उत्पादन गर्दै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी)ले सिटिसी चिया पनि बजारमा ल्याएको छ ।

झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको एनएमसीले आइतवार बिर्तामोडस्थित शाखा कार्यालयमा पत्रकार सम्मेलन गरी सिटिसी चियाको आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । चिया व्यवसायअन्तर्गत एनएमसीले सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । यो उद्योगले एनएमसी टी ब्राण्डमा पाँच सय ग्राम र दुईसय ग्रामका प्याकेट बजारमा ल्याएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

चियाका पारखीहरुका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रिन टी र टी ब्यागमा उपलब्ध गराएको एनएमसीले नेपाली बगानबाट उत्पादित उत्कृष्ट एवम् ताजा चियाको छनोट साथै विज्ञको परामर्श र रोहवरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा र छिटो रङ आउने सिटिसी चिया तयार गरी बजारमा ल्याएको उनले जानकारी दिए ।यो चिया गुणस्तरीय साथै सस्तो समेत रहेको अध्यक्ष उप्रेतीको भनाइ छ । एनएमसीले २०७८ साल असार महिनादेखि झापाको मेचीनगर ५ सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग शुरु गरेको थियो ।

एनएमसीले चिया व्यवसाय विस्तारका क्रममा इलामका तीनवटा चिया सहकारी संस्थाहरूसंग सहकार्य गर्दै किसानद्वारा उत्पादित हरियो पत्ती खरिद तथा प्रशोधन गरेर २०७८÷७९ मा ७५ हजार केजी अर्थोडक्स चिया उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिसकेको जनाएको छ । संस्थाले आफ्नै सदस्यहरूबाट उत्पादित हरियो पत्ती खरिद गर्ने गरेको पनि उनले जानकारी दिए । गुणस्तरीय हरियो पत्तीका लागि मूल्य पनि सोही अनुसारकै किसानहरूलाई दिने गरिएको उप्रेतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्