झापा, जेठ ३१ । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०÷०८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले बताए ।
अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन आज नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने संविधानको धारा १८४ को उपधारा (२) को व्यवस्थाअनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा बैठकमा प्रदेश प्रमुखलाई सम्बोधनको कार्यसूची नमिलाइएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउन जटिल हुने देखेर प्रदेश सरकारले आजको बैठकपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको एमालेका एक सांसदले बताए । प्रदेश सरकार अल्पमतमा परिसकेको र असार १ गते बजेट ल्याउनै पर्ने भएकाले अध्यादेशको विकल्प नभएको एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले बताए ।



