एजेन्सी । विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२६ को विश्वकप खेल्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् ।

३६ वर्षपछि गत वर्ष अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाएका मेसीले सन् २०२२ को विश्वकप नै आफ्नो अन्तिम हुने संकेत गरेका हुन् । लगातार पाँच वटा विश्वकप खेल्दै मेसीले गत वर्ष अर्जेन्टिनालाई उपाधि दिलाएका थिए । आफ्नो करियरमा विश्वकप मात्रै जित्न बाँकी रहेको अवस्थामा मेसीले कतार विश्वकपमा प्रेरणादायी प्रदर्शन गरेका थिए । ३५ वर्षीय मेसीले कतारमा २२औं संस्करणको विश्वकप खेलिरहँदा यो नै आफ्नो अन्तिम विश्वकप हुने बताउँदै आएका थिए। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी, सहकर्मी खेलाडी र समर्थकहरू भने सात पटकको बलोन डी’ओर अवार्ड विजेता मेसीले सन् २०२६ को विश्वकप पनि खेल्नेमा आशावादी छन् । सन् २०२६ को फिफा विश्वकप संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दै छन् । अन्तर्राष्ट्रिय मैत्रीपूणर् खेलका चीनमा रहेका मेसीले चिनियाँ समाचार संस्था टाइटन स्पोर्ट्ससँग कुरा गर्दै सन् २०२६ को विश्वकप नखेल्ने संकेत गरेका हुन्। ‘मलाई लाग्दैन कि सन् २०२६ को विश्वकप खेल्छु। कतार विश्वकप नै मेरो अन्तिम विश्वकप होे। यो कुरा मैले पटक पटक भनिसकेको छु’, मेसीले भनेका छन्, ‘सन् २०२६ को विश्वकप आउन अझै धेरै समय बाँकी छ। तर, मलाई लाग्दैन कि म त्यस विश्वकपमा खेलिरहेको हुन्छु।’

मेसीको नेतृत्वमा अर्जेन्टिनाले बिहीबार अस्ट्रेलिया र त्यसको चार दिनपछि इन्डोनेसियासँग मैत्रीपूणर् खेल खेल्दैछ । त्यसकै लागि अर्जेन्टिनी टोली चीनमा तयारी गरिरहेको छ । बार्सिलोनाका पूर्व सुपरस्टार मेसीले गत साता मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अलग्एिका थिए। पीएसजीसँगको सम्झौता सकिएपछि उनी अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका थिए। सन् २०२२ को विश्वकप मेसीको करियरको पाँचौं विश्वकप हो। यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागी भएका थिए। मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्। जसमा १३ गोल गरेका छन्। कतार विश्वकपमा मात्रै उनले सात गोल गरेका थिए । उनी दोस्रो पटक गोल्डेन बल जित्ने पहिलो खेलाडी पनि बनेका थिए। कतार विश्वकप अघि उनले सन् २०१४ को विश्वकपमा गोल्डेन बल जितेका थिए । मेसीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भने उनी तेस्रो स्थानमा छन्। यस सूचीमा उनीभन्दा अघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको १२२ र इरानका अली देईको १०९ गोल छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्