झापा , जेठ ३२ । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् ।

पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ । प्रतिवेदन नबुझाएका कारण जिल्ला खोप समन्वय समितिको बैठक बस्न नसकेको प्रमुख बाराकोटीले बताए । “खोप नलगाउने बालबालिकामा सङ्क्रमणको जोखिम धेरै हुन्छ”, उनले भने । बालबालिकामा देखिने महामारी नियन्त्रण, न्यूनीकरण र पूर्वतयारीका लागि पूर्ण खोपको विवरण आवश्यक हुने उनको भनाइ छ । पालिकाबाट आएको प्रतिवेदनका आधारमा जिल्लालाई प्रत्येक वर्ष पूणर् खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिन्छ । सरकारले दिने आवश्यक सहयोग र नगरपालिकाले बजेटमा समेट्नुपर्ने कुराका लागि पनि खोपको तथ्याङ्क आवश्यक हुन्छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले पूर्ण खोपको काम अन्तिम चरणमा पुगेको बताए । उनले आइतबारदेखि अनुगमन गरिने बताए । नगरमा खोप लगाउन छुटेका एक सय १२ तथा खोप नै नलगाएका दुईजना फेला परेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्