झापा , जेठ ३२ । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण राजधानी मनिलामा केही रेल सेवा अवरुद्ध भएको रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर (६.२१ माइल) गहिराइमा समुद्रमा थियो । नजिकैका प्रान्तहरूमा धक्का महसुस गरिएको भूकम्पपछि कुनै हताहत वा ठूलो क्षति नभएको फिलिपिन्सको भूकम्प मापन गर्ने एजेन्सीले जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टिम हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि फिलिपिन्समा छन् । नेपालले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाली राष्ट्रिय टिम सुरक्षित रहेको र हालसम्म खेल स्थगित वा रद्द हुने कुरा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बताए । “भूकम्पबाट नेपाली टिम सुरक्षित छ । भूकम्पका कारण खेल रद्द वा स्थगित गरिएको बारे कुनै कुरा आएको छैन । अहिलेसम्म खेल पूर्वनिर्धारित समयमा नै हुने जानकारी छ,” शाहले भने । साफ च्याम्पियनसिपको तयारी र मैत्रीपूणर् खेलका लागि नेपाली टिम यही जेठ २९ गते फिलिपिन्स गएको थियो । फिलिपिन्समा एउटा मैत्रीपूर्ण खेलपछि नेपाली टिम भारतमा हुने च्याम्पियनसिपका लागि प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्