शनिश्चरे,असार १ । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था अर्जुनधारा प्रेस क्लबको कार्यालय भवन तथा सूचना केन्द्र बन्ने भएको छ ।

शुक्रबार एक संक्षिप्त कार्यक्रम गरी भवन निर्माणस्थलमा भूमिपूजन गरिएको छ । अर्जुनधारा ८ मा निर्माण हुन लागेको अर्जुनधारा प्रेस क्लबको भवनको अर्जुनधारा नगरपालिका प्रमुख बलदेबसिंह गोम्देन तामाङले भूमिपूजन गरेका हुन् ।

प्रेस क्लबलाई साढे ९ धुर जग्गा प्राप्त भएसँगै अर्जुनधारा नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुको सुबिधाका लागि सूचना केन्द्र बनाउने उद्देश्यले भवन निर्माण गर्न लागिएको प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीले जानकारी दिए । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष समदर्शीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम प्रमुख अतिथि तथा नगर प्रमुख गोम्देनले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्षमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तत्काललाई २ वटा कोठा र एउटा हलसहितको भवन निर्माण गरिने क्लबले जनाएको छ । भवनको दोस्रो तलामा पाहुना कक्षसहितको भवन पनि निर्माण गरिने बताइएको छ ।

अर्जुनधारा प्रेस क्लब जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्था हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी अर्जुनधाराका अध्यक्ष अर्जुन मेचे, नगर कार्यपालिका सदस्य गोविन्दप्रसाद खतिवडा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखिया सुनुवार, क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, सल्लाहकार संयोजक दिपीन राई, जग्गादाता कृष्ण बराललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्