भद्रपुर, असार १। झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्र रहेका भवन निर्माणकर्मी (डकर्मी)हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इन्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो ।

तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए । भद्रपुर नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख तथा सूचना अधिकारी नेत्र पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको सञ्चालन डिलाइट इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक केशवप्रसाद अधिकारीले गरेका थिए ।

बिहीबार समापन गरिएको तालिममा भद्रपुर क्षेत्रका ३६ जना निर्माणकर्मीको सहभागिता रहेको र तालिममा इञ्जिनियर मो. अरसर अलि र इञ्जिनियर अंकित दाहालले प्रशिक्षण दिएका थिए भने भद्रपुर नगरपालिका नक्सा शाखा अधिकृत उप्रेन्द्रनाथ पौडेल र अमिन शैलेस श्रेष्ठले सहजीकरण गरेका थिए । समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको डिलाइटका सञ्चालक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्