झापा, असार ३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगिमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् ।
यस्तै मेहेलेकै भरत तामाङ बेपत्ता भएको स्थानीयले बताएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ।
घटनास्थलमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले बताइन्। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ।
यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्य चौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजंघा र सिदिङ्वा गाउँपालिकामा क्षति पुगेको छ। तर, ठूलो वर्षा भएकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन्। बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन्।



