झापा, असार ३ । कप्तान क्रेग इर्भिन र सिन विलियम्सले शतक बनाएपछि जिम्बावेले विश्वकप छनोट क्रिकेटमा नेपालमाथि ८ विकेटको सानदार विजय हात पारेको छ ।

यी दुईले तेस्रो विकेटमा २१ ओभरभित्र १ सय ६४ रनको साझेदारी गरेपछि नेपालले छाडेको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा पूरा ग¥यो ।
इर्भिन १ सय २१ र सिन विलियम्स १ सय २ रन बनाई अविजित रहे । ३७ वर्षे इर्भिनले १ सय २८ बल खेली १५ चौका र १ छक्का तथा १ सय ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका विलियम्सले ७० बल खेली १३ चौका र १ छक्का प्रहार गरे ।

जोयलर्ड गुम्बी २९ बलमा २५ रन बनाई सोमपाल कामीको बलमा आउट भए । प्लेयर अफ द म्याच इर्भिनले त्यसपछि दोस्रो विकेटमा वेस्ली माधेभेरेसँग ८२ रनको साझेदारी गरे । माधेभेरे ३८ बल खेली २ चौकासहित ३२ रन बनाई आउट भए पनि अनुभवी इर्भिन र विलियम्सले ठूलो लक्ष्यमा जिम्बावेलाई सजिलै पु¥याए । इर्भिनको यो पाँचौं र ३६ वर्षे विलियम्सको यो तेस्रो शतक हो ।
यसअघि कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुके पनि नेपालले जिम्बावेलाई विश्वकप छनोटमा ठूलो लक्ष्य दिएको थियो । घरेलु टोलीले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ९० रन बनाएको थियो ।

नेपालले सोमबार अमेरिकासँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, जिम्बावे, अमेरिकासहित वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्