झापा, असार ५ ।डोमालाल राजवंशीले बिर्ताबजारको दुर्गा मन्दिरलाई दिएको १२ विगाह जग्गा भूमाफियाहरुले बेचेर खाएजस्तै गरामनीको दुर्गा मन्दिरलाई एकजना राजवंशीले दान दिएको जग्गासमेत हिनामिना भएको छ ।

एकजना राजवंशी समुदायका दाताले गरामनीको दुर्गा मन्दिरलाई दिएको ८ विगाह जग्गा हिनामिना भएको हो । बिर्तामोड– ८ देउनियामा रहेको सो जग्गा विभिन्न व्यक्ति र संस्थाले कब्जा गरेका छन् ।

सो जग्गाको बारेमा स्थानीय सरकारदेखि मन्दिर व्यवस्थापन समिति पनि बेखबर छ । देवी गुठीको नाममा रहेको धेरै जग्गा दिनेश महत र उनको परिवारले जोतभोग गरिरहेका छन् । उनीहरु कसैलाई पनि ठेक्का बुझाउँदैनन् । आफूहरुले जोतेको त्यस जग्गामा उनीहरुले तीनवटा घरसमेत बनाएका छन् । त्यस्तै करिव एक विगाह जग्गा शुक्रराज आधारभूत विद्यालयले हिनामिना गरेको देखिन्छ । करिव १० कठ्ठा जग्गा विद्यालयले चर्चेको छ भने बाँकीे १० कठ्ठा जग्गामा विद्यालयले विभिन्न व्यक्तिहरुलाई राखेको छ । १० वटा घर निर्माण गरिसकेका ती व्यक्तिहरु देवी गुठीको त्यस जग्गालाई नम्बरी बनाउनतर्फ लागेका छन् । उनीहरुले आफूहरु बसेको घरजग्गाको लगत तयार गर्न लगाई धनीपूर्जाको लागि पहल गरिरहेका छन् । धनीपूर्जा दिनको लागि बिर्तामोड नगरपालिकाले सिफारिस दिइसकेको छ । गरामनीको देवी गुठीको जग्गा संरक्षणविहीन बनेको हो । २०४६ अघि साविक गरामनी गाउँ विकास समिति हुँदा जग्गा कमाउनेहरुले ठेक्का बुझाउने गरेका थिए । तर, त्यसयता उनीहरुले ठेक्का बुझाएका छैनन् । जिम्मेवार बिर्तामोड नगरपालिकाले पनि खोजीनीति गरेको छैन । देवी गुठीलाई जग्गा दिने दाताको खोजी गरिएको छैन भने देवी गुठीको जग्गा कहाँ र कुन अबस्थामा छ त्यो पनि खोजी गरिएको छैन ।

गरामनी गाउँ पञ्चायत भएका बेला जनप्रतिनिधि रहेका डिल्लीकुमार मैनाली र उनका पिता गोपिचन मैनालीले त्यस जग्गामा आफूखुशी गरेका थिए । उनीहरुले नै त्यस जग्गालाई पजनी गर्ने काम गरेका थिए ।बिर्तामोड –भद्रपुर सडकको दुवैपट्टी रहेको त्यस मूल्यवान जग्गालाई कसैले पनि संरक्षण नगरेको स्थानीय हरि गौतम बताउँछन् । ‘बिर्तामोड नगरपालिकाले हेरेको छैन , वडा कार्यालयले पनि हेरेको छैन’ उनले भने,‘ देवी गुठीको जग्गा के गर्ने भनेर कसैलाई वास्तै छैन ।’ केही वर्षअगाडि मेयर ध्रुवकुमार शिवाकोटीको पालामा उद्योग वाणिज्य महासंघले कृषि प्रशोधन केन्द्र खोल्न भनेर बिर्तामोड नगरपालिकासंग सो जग्गा लिजमा लिने चर्चा चलेको थियो ।तर, त्यो चर्चा त्यतिकै सेलायो ।त्यसपछि शिवाकोटीकै कार्यकालमा नाथन कलेजले पर्यटन कलेज खोल्ने भनेर चर्चा पनि सुनियो । नगरपालिकासंग सल्लाह गरेर सो कलेज संझौताको लागि नआएको बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए ।

झापाका अधिकांश मठमन्दिर र विद्यालयहरुलाई राजवंशी समुदायले जग्गा दान दिएका थिए । दान दिएका जग्गा यसरी नै मासिएको छ । आफ्नो समुदायले पवित्र उद्धेश्यले दान दिएको जग्गा यसरी बेचिखानु र हिनामिना गर्नु दुःखलाग्दो भएको राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्