भद्रपुर, असार ६ । भद्रपुरस्थित नवनिर्मित प्रादेशिक अस्पतालको भवनमा कमसल सामग्री प्रयोग गरी निर्माण भएका कारण वर्षातको पानी चुहिएको भन्दै अस्पताल विकास समितिले ठेकेदारलाई कारवाहीको माग गरेको छ ।

कन्टेक प्रा. लि. नामक निर्माण कम्पनीमार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रक्रिया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोगमार्फत भवन पुनर्निर्माण भएपछि मात्र सेवा प्रवाह गर्न सकिने अस्पताल विकास समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालद्वारा जारी विज्ञप्तिमा अस्पतालका झ्याल ढोकामा प्रयोग भएका सामग्री कमसल रहेको, शौचालयमा निकै समस्या देखिएको, छानामा प्रयोग भएको फाइवर कमसल रहेको, अस्पताल भवनका तीन वटा सेक्सनको छानाबाट पानी चुहेकोले प्राविधिक त्रुटि गराउने प्राविधिक र निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग गरिएको छ ।



