झापा,असार ७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसंग एकीकरण गरेर कुमार लिङ्देनलाई एक्लाएर नागरिक उन्मुक्ति पार्टी (एकीकृत) बनाएका संरक्षक रेशमलाल चौधरीले तिनै लिङ्देनलाई अहिले फकाउन थालेका छन् ।

पहिचानवादीहरुको शक्ति निर्माणमा जुटेका चौधरीले आफ्नो पार्टीमा ल्याउनका लागि लिङ्देनलाई फकाउने प्रयास गरेका हुन् । संगठन निर्माण र कार्यकर्ता भेटघाटका क्रममा बिर्तामोड आएका चौधरीले मन्तव्यका क्रममा अधिकांश समय लिङ्देनकै गुनगान गाए । लिङ्देनले नै दिएको ढाकाको कोट लगाएर उनी बिर्तामोड आएका थिए ।
‘कुमार लिङ्देनले मलाई धेरै सहयोग गर्नुभएको छ म उहाँको सहयोग बिर्सन सक्दिनँ ’चौधरीले भने ,भारत निर्वासनमा रहँदा र जेलमा बस्दा उहाँले मलाई निकै सहयोग गर्नुभएको छ । ’ भारतमै बसेर २०७४ को निर्वाचन जितेपछि आफूसंग लगाउने लुगा नहुँदा लिङ्देनले नै दिएको त्यो ढाकाको कोट लगाएर सिंहदरबारमा सपथ ग्रहण गर्न गएको उनले घटना सुनाए ।त्यस्तै जेलमा रहँदा आफूले लेखेको किताबलाई लिङ्देनले बेचिदिएर स्थानीय तहको निर्वाचन लड्न आफ्नी श्रीमती रंजिता श्रेष्ठलाई एक लाख रुपैयाँ दिएको चौधरीले स्मरण गरे । आफ्नो किताब प्रकाशन गर्न लिङ्देनले नै सहयोग गरेको चौधरीको भनाई थियो ।
केही महिनाअघि विराटनगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला संयुक्त संघर्ष समिति, नागरिक सशक्तिकरणका लागि जागरण अभियानले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चभित्रको विवादसँगै अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गर्दै नागरिक उन्मुक्ति पार्टीसँग समाहित भएको थियो ।
मञ्चमा देखिएको विवादसँगै वैशाख १० गते सम्पन्न बैठकबाट लिङ्देनलाई कारबाही गर्दै उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। पार्टी एकीकरणका क्रममा मञ्चका गुरुङसँगै महासचिव अशोक चेम्जोङ, प्रदेशका उपाध्यक्ष एबी तुम्बाहाङ, इन्दिरा मेन्यांग्बो र दिलकुमार लावती, महासचिव सेशेहाङ चोंगवांग र जिल्ला अध्यक्षहरू सहभागी रहेका थिए।
नागरिक उन्मुक्तिसँग एकीकरण गरेको मञ्चको असन्तुष्ट पक्षले वैशाख १२ गते सम्पन्न बैठकबाट लिङ्देनलाई अध्यक्षबाट पदमुक्त गरेको जनाउँदै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
वैशाख १७ गते निर्वाचन आयोगमा दिइएको निवेदनमा कुमार लिङ्देनलाई पदच्युत गरेको र लिङ्देनको स्थानमा ज्ञानबहादुर गुरुङलाई अध्यक्ष बनाएको भनिएको थियो।
यसअघि, धरानमा सम्पन्न तेस्रो महाधिवेशनपछि मञ्चभित्र विवाद उत्पन्न भएको थियो। अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष लिङ्देनले महिला उपाध्यक्ष बनाएको, आर्थिक पारदर्शिता नदेखाएको, विधान केन्द्रीय समितिबाट पास नगरेकोसमेत आरोप लागेको थियो। सो क्रममा चार महिनाअघि तत्कालीन अध्यक्ष लिङ्देनले ८ जनालाई कारबाही गरेका थिए।
पार्टी एकीकरण गर्ने विषयमा तत्कालीन अध्यक्ष कुमार लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पार्टी एकीकरण गरिएको गुरुङले बताए।
थारु समुदायका चौधरी यतिबेला पहिचानवादीहरुको लागि भन्दै आदिवासी जनजातिहरुलाई आफ्नो पार्टीमा तान्न लागिपरेका छन् । लिङ्देनलाई फकाउन उनले कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा सहभागी बन्दै साविक १ नं प्रदेशलाई लिम्बुवान किरात प्रदेश नामकरण गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । जसबाट खासगरी लिम्बू र राई जातिका मानिसहरुको झुकाव नागरिक उन्मुक्ति पार्टीप्रति बढ्दै गएको छ । पहिचानवादी दावी गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , जनता समाजवादी पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने क्रम शुरु भएको छ ।



