झापा, असार ७। नेपालले विश्वकप छनोटमा बिहीबार वेस्ट इन्डिजविरुद्ध १ सय १ रनको हार बेहोरेको छ ।

जिम्बावेमा भइरहेको प्रतियोगितामा ३ सय ४० रनको विशाल लक्ष्य लिएर आएको नेपाल हरारे स्पोर्ट्स क्लबमा ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भयो । रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो हार हो ।

वेस्ट इन्डिजको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो । यद्यपि शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरे नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकामाथि नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

वेस्ट इन्डिजको तीव्र बलिङका अगाडि नेपाल सुरुवातदेखि नै दबिएर खेलेको थियो । कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए । ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेली ३ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बल खेली ३ चौका प्रहार गरे ।

कुशल मल्ल २ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै नेपाललाई २ सय रनको नजिक पुर्‍याए । गुल्शनले ५८ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।

आसिफले ६३ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको छैटौं अर्धशतक हो । उनले ९३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । ललित राजवंशी १ बल खेली शून्यमा अविजित रहे । वेस्ट इन्डिजका लागि होल्डरले ३ विकेट लिए । उनले सोक्रममा १० ओभरमा ३४ रनमात्र खर्चे । अल्जारी जोसेफले १० ओभरमा ४५, एकलि होसेनले १० ओभरमा १ मेडन राख्दै ४९ र किमो पाउलले १० ओभरमा १ मेडन राख्दै ६३ रन खर्चेर २-२ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय ३९ रन बनाएको थियो । कप्तान साई होप र निकोलस पुरनले सानदार शतक बनाएपछि वेस्ट इन्डिजले विशाल स्कोर बनाएको थियो । यी दुईले चौथो विकेटमा २ सय १६ रनको साझेदारी गरे ।

पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा पुरनको यो दोस्रो र होपको छैटौं शतक हो । ९४ बल खेलेका पुरनले १० चौका र ४ छक्का प्रहार गरे । उनले ३ र ५३ रनमा जीवनदान पाएका थिए । दुवै पटक आसिफले उनको क्याच फुत्काउन पुगेका थिए । दीपेन्द्रले आफ्नै बलमा सानदार क्याच लिइ पुरनलाई आउट गरी यो साझेदारी तोडेका थिए । होपले १ सय २९ बल खेली १२ चौका र ३ छक्का प्रहार गरे । रोभमन पोवेल १४ बलमा २९ र किमो पाउल १ रनमा आउट भए । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहे । यसअघि नेपालले बलिङमा सानदार सुरुआत गरेको थियो । करणले नेपालको दोस्रो तथा आफ्नो पहिलो ओभरमै केयल मायर्सलाई कुशलको हातबाट सानदार क्याच गराएका थिए । पाँचौं ओभरमा जोहसन चार्ल्सलाई गुल्शनले शून्यमा आउट गरेका थिए । ब्रेन्डन किंगलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इन्डिज १६ औं ओभरमा ५५-३ को स्थितिमा पुगेको थियो । नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुल्शन, सन्दीप र दीपेन्द्रको नाममा १-१ विकेट रहयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्