झापा, असार ८ । र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ ।

र्‍यापर खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मोरङ धनपालथान गाउँपालिका-४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको मृत्यु भएको हो । अन्सारीले क्याफेमा नियमित मासु बेच्न लैजाने गरेका थिए । असार ३ गते बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । मृतकका भाइ मासिदले मासु बिक्री गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका छन् । मृतकका परिवारले अन्सारीको योजनाबद्ध हत्या भएकाले आफूहरूले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको बताए । अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका-८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका- ३ का करण राजवंशी र विराटनगर महानगरपालिका-१६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् । अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नसा काटिएर मृत्यु भएको बुझिएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्