झापा, असार ९ । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ ।

जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो ।

नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपर सिक्समा प्रवेश गरेको छ । नेपाल रहेको समूहबाट यसअघि नै जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगिसकेका थिए ।
नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा ग¥यो । लो स्कोरिङ खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे । प्लेयर अफ द म्याच ओडाउटले ७५ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतले ९० रन बनाए ।उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए ।
नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे । त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए । नेदरल्यान्ड्सका लागि वास डे लिडेले नट आउट ४१ रन प्रहार गरे ।

टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राख्यो । टिमको स्कोर ७ हुँदा नेपालले ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ३९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजे पनि त्यसपछि कुनै ब्याट्सम्यानले उल्लेख्य साझेदारी गर्न सकेनन् । भुर्तेलले २७ र सार्कीले २२ रन बनाए । ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए । त्यसैगरी सन्दीप लामिछानेले २७ बनाए भने कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३ विकेट लिए भने विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १–१ विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्