बिर्तामोड,असार १० । बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्र बिर्तामोड– ३ बिर्ताबजारको आयोजनामा बैदेशिक रोजगारसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा राम्ररी सोच विचार गरेर र बुझेर मात्र वैदेशिक रोजगारीमा जान सुझाव दिइएको थियो । बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकीले कार्यक्रमको उद्घाटन गर्दै विदेश किन र केका लागि जाने भन्ने बुझेर आफूले गर्नुपर्ने कामको लागि दक्ष भएर मात्र विदेश जान सुझाव दिए । नबुझीकन बिनासावधानी विदेश जाँदा धेरै नेपालीले दुःख पाएको उनले घटना सुनाए । कार्यक्रमका विशेष अतिथि पूर्व जनप्रतिनिधि तथा समाजसेवी लोकबन्धु कन्दङ्वाले रेमिट्यान्सको भरमा चलिरहेको नेपालले वैदेशिक रोजगारीलाई अझै व्यवस्थित गर्न नसकेको बताए । उनले वैदेशिक रोजगारीलाई विकल्प दिन आबश्यक भएको भन्दै यदि विदेसिएका ७२ लाख नेपाली स्वदेश फर्किनु पर्दा र भारतले नाकाबन्दी गर्दा नेपाल र नेपालीले भयानक दुर्दशा भोग्नुपर्नेतर्फ सचेत गराए ।

सेवाकेन्द्रकी कोषाध्यक्ष जानुका थापा मगरले स्वागत मन्तव्य गरेको कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष बासु माझीले प्रकाश पारेका थिए ।कार्यक्रममा भद्रपुर नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय झापामा संचालित सुरक्षित आप्रवासन कार्यक्रमका धिरज चौधरी र विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक अर्जुनकुमार पाठकले सहजीकरण गरेका थिए । कार्यक्रममा ४२ जना युवायुवतीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्