झापा, असार १० । भद्रपुर–८ स्थित जनता चोक छेउ रहेको एसियन प्लाइउड उद्योग (अन्नपूर्ण पलाई) मा एक भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा मजदुर भारत किसनगञ्ज जिल्ला गलगलिया–३ भादगाउँ निवासी ५३ वर्षीय मोहम्मद हफिज उदीन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी विगत पाँच वर्षदेखि एसियन प्लाइउड उद्योगमा कार्यरत थिए ।

शुक्रबार राति अबेरसम्म काम गरेर उद्योगभित्र रहेको कोठामा उनी सुत्न गएका थिए । शनिवार घर नगएपछि उनका छोरा मोहम्मद सबिर बुबालाई खोज्न उद्योग पुगेका थिए । उद्योगको कोठामा गएर हेर्दा ओछ्यानमा सुतेको अवस्थामा बुबालाई मृत देखेपछि उनले तत्काल सबैलाई जानकारी गराएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकीसहितको टोली तत्काल घटनास्थल पुगेको थियो ।

शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । उद्योगको कोठाभित्र मजदुर मृत भेटिए पनि उद्योग सञ्चालक र व्यवस्थापन पक्षले थाहा नपाउनु घटनाले मजदुर पक्षका आफन्त आक्रोशित बनेका थिए ।घटनाको बारेमा छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्