झापा , असार ११ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन् ।

सोमबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिनलगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको बताए। उनले लागूऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए । उनले नेपालमा लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको बताए।

उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए। लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले सवद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतनामूलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मूल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको छ । गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन, बुप्रेनरफिम, डाइजिपाम लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको छ । विभिन्न तथ्यांकहरूबाट लागूऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ।’

लागूऔषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बललगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरुले जनचेतना कार्यक्रम प्रस्तुति गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्