झापा, असार ११ । एसियाका आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट(एआइपीपी)ले कोशी नाम खारेजीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

नेपालसहित एसियाका विभिन्न १४ वटा देश सदस्य भएको एआइपीपीका पदाधिकारीहरु प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा जारी आन्दोलनलाई समर्थन जनाउन यतिबेला नेपालमा छन् ।

आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह( लाहुर्निप) र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमवार बिर्तामोडमा संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआइपीपीका महासचिवमा ग्याम वोङ्दी सिमरीले अधिनायकवादी नेताजस्तो नगरी सबै आदिवासी जनजाति मिलेर आन्दोलनलाई दूरदृष्टि बनाउन आग्रह गरे । उनले कोशी नाम खारेजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनलाई सुदृढ बनाउने कुरामा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै एआइपीपीका उपमहासचिव के जनले कोशी नाम खारेजी आन्दोलनप्रति आफूहरु उत्साहित भएको बताए । उनले आदिवासीहरुको लागि नाम महत्वपूर्ण विषय भएको बताउँदै नामसंग आदिवासीहरुको भूमि , अध्यात्म, संस्कार संस्कृति र संसारले हेर्ने दृष्टिकोण जोडिएको अनुभव सुनाए ।

कार्यक्रममा आदिवासी अभियन्ता डा. कृष्ण भट्टचनले लाटोको भूतले कोशी प्रदेश नामकरण गरेको बताउँदै उनले त्यस्ता लाटोको भूत र बंशका गद्धारहरुलाई जहाँ भेट्यो त्यही लात्तीले हिर्काउनु पर्ने चेतावनी दिए । उनले गैर आदिवासी नेतृत्वले आदिवासीहरुलाई हक अधिकार दिन नसक्ने ठोकुवा गरे । कार्यक्रममा बोल्दै लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बूले पहिचानको विरोध गर्न आएका पूर्व प्रधानमन्त्री केपी ओलीले आतंककारी भनेर आदिवासीहरुलाई हेप्ने सीमा र अन्यायको पराकाष्ठा नाघेको आरोप लगाए । उनले संविधानले व्यवस्था गरेको अधिकार माग्दा विरोध गर्ने ओलीलाई आदिवासीहरुले फौजदारी अपराधीको रुपमा लिएको बताए । कोशी नाम खारेजीको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न लागेको उनको भनाई थियो ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव सेसेहाङ फियाकले गरेका थिए । कार्यक्रमको संचालन पारसमणि राईले गरेका थिए । कार्यक्रममा विभिन्न जातीय संस्थाका अग्रजहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्