बिर्तामोड, असार ११ । बिर्तामोड–९ बद्रीबारी टोलमा एकैरात चोरले १३ वटा घरबाट तार चोरी गरी लगेको छ।

चोरले काटेर छोडेको तार

गएराति चोरले ती घरहरुबाट तार लगायत मोबाईल फोन समेत चोरी गरिलगेको बद्रीबारी टोल विकास संस्था बिर्तामोड–९ की अध्यक्ष बिन्दा खरेलले जानकारी दिइन्। तार चोरी भएसंगै यहाँका स्थानीयले असुरक्षित भएको महसुस गरेका छन्। कतिपयको घरमा चोरले दोस्रो पटक तार चोरेर लगेको जनाईएको छ भने कसैको घरमा पहिलो पटक चोरी भएको हो। असुरक्षाको महसुस गर्दै टोलको तर्फबाट सम्बन्धित प्रहरीसमक्ष निबेदन दिने तयारी रहेको टोल अध्यक्ष खरेलले जानकारी दिइन् ।

बद्रीबारी टोलका तुलसी खतिवडा,टोल अध्यक्ष खरेल,बृहस्पति सेंढाई, नबिन सेंढाई,बुधलाल महत्तो,सागर आले,बालकृष्ण आले,हरि राजवंशी, कमल राजवंशी,सनमान तामाङ, टिकाराम सिटौला,गोपाल सिटौलालगायत छिमेकी बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का रमेश पाठक लगायतको घरको बाहिर वाईरिङ गरिएको तथा पानीको मोटरमा जडान गरिएको तार एकैसाथ चोरी भएको पीडितहरुले जानकारी गराएका छन्। चोरी रातको १२ देखि १ बजेसम्ममा भएको हुनसक्ने अनुमान गरिएको छ।

एकै रातमा १३ घरबाट यसरी तार चोरी भएको यो पहिलो घटना हो । पिलासले तार काटेर लगिएको र केही काटिएको टुक्रा तार हतारमा चोरले छोडेर गएको र साथमा रहेको बल्ब र होल्डर समेत छोडेर गएको पीडित टिकाराम सिटौलाले बताए। आफ्नो घरबाट दुईवटा मोबाईल फोन समेत सोही चोरहरूले झ्यालबाट तानेर लगेको पीडित बृहस्पति सेढाईले जानकारी दिए। बालकृष्ण आले,बुधलाल महतो लगायतको तार चोरी भएको यो दोस्रो पटक भएको जनाईएको छ । उनीहरुको घरबाट यस भन्दा पहिला पनि तार चोरी भैसकेको छ । बिर्तामोड–९ बद्रीबारी टोलमा पटक पटक तार चोरीको घटना बढिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्