झापा, असार १२ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

रिजालका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

घटनालगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्