झापा, असार १२ । बिर्तामोड–भद्रपुर सडकमा पर्ने देउनिया खोलाको पुल भत्किन लागेको छ ।

देउनिया खोलाको बहावले उत्तरपट्टि माटो कटान गरेर धरधरे लागेपछि पुल जोखिममा परेको हो । तत्काल तटबन्ध नगर्दा बर्खामा ठूलो बाढी आए पुल भत्किन सक्ने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले त्यसप्रति तत्काल ध्यान दिन सडक विभागलाई आग्रह गरेका छन् ।

बिर्तामोड– भद्रपुर सडक निर्माणाधिन रहेको छ । काठमाडौंको कन्टेक प्रालिले बाटोको ठेक्का पाएको हो । बाटो निर्माण सम्पन्न गर्नुपर्ने म्याद साउन ५ सम्म मात्र रहेको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थात ३० महिनामा काम सम्पन्न गर्नुपर्ने छ ।तर, अहिलेसम्म करिव २८ प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

देउनिया पुल यथावत रहने सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले पुलमा पुगेको क्षतिको तत्काल अवलोकन गरी रोकथामको पहल गरिने जानकारी दिए । पुलको उत्तरपट्टि केही वर्ष अघिदेखि माटो झर्न थालेको थियो । यस वर्ष धेरै धरधरे लागेपछि पुल जोखिममा परेको स्थानीय अनिल गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्