बिर्तामोड, असार १३ । बिर्तामोड नगर अस्पताल जाने सडक समयमै पूरा नगरी अलपत्र पारेर छोड्ने ठेकेदारमाथि बिर्तामोड नगरपालिकाले कार्वाही प्रक्रिया शुरु गरेको छ ।

सो सडकमा प्लम र कालोपत्रे निर्माण गर्ने ठेक्का ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले लिएका थिए ।४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का संझौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । म्यादभित्र सब बेसको कामसमेत नसकी नगर अस्पताल जाने विरामी , स्वास्थ्यकर्मी र स्थानीयलाई आवतजावतमा ठूलो समस्यामा पार्ने सिटौलालाई तीन दिनभित्र काम पूरा गर्न चेतावनीसहितको पत्र बुधवार नगरपालिकाले पठाएको छ । यसअघि पनि बेलैमा काम नसक्ने देखेर नगरपालिकाले पहिलो चेतावनी पत्र पठाएको थियो । तीन दिनभित्र काम पूरा नगरे नगरपालिकाले कार्वाही थाल्ने भएको हो । तीन दिनभित्र काम पूरा नगरे नगरपालिकाले कार्वाही गर्ने प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । ‘ काम नगरे ठेकेदारले राखेको बैंक ग्यारेन्टी हामी तान्छौं ’ उनले भने ।

ठेकेदारले अलपत्र पारेको सडकबाट हिड्नै नसक्ने भएपछि स्थानीयहरु आज नगरपालिकामा डेलिगेशन गएका थिए । आफूहरुले त्यसको जिम्मा नगरपालिकाले लिनुपर्ने भन्दै दवाव दिएको स्थानीय शिखर कडरियाले बताए । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा हिजो एकजना स्कुले बालिका डुबेकी थिइन् । स्थानीयले देखेर तत्काल उद्धार गरेकाले जोगी थरकी ती बालिकालाई केही नभएको कडरियाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्